
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भदौ २ गतेदेखि वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘बिओके डिबेन्चर, २०८६ (क) नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । यो ऋणपत्रको अवधि ७ वर्षको रहने बैंकको भनाई छ । बैंकले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. १ अर्ब १० करोड बराबरको ११ लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो ।
कुल कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात रू. ४४ करोड बराबरको ४ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात रू. ६६ करोड बराबरको ६ लाख ६० हजार कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
यो ऋणपत्र खरिदका लागि छिटोमा भदौ ७ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ १६ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
साथै मेरो शेयर वेवसाइट र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्राएनपि आईआर त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस