aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

त्र्यम्बकम सहकारी संस्थाद्वारा बचत कर्ताको रकम हिनामिना, दुई वर्षदेखि घरभाडा नतिरेपछि ताला तोडियो

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • विहीबार, २६ साउन २०७९
त्र्यम्बकम सहकारी संस्थाद्वारा बचत कर्ताको रकम हिनामिना, दुई वर्षदेखि घरभाडा नतिरेपछि ताला तोडियो

भैरहवा । बचत कर्ताको रकम फिर्ता नदिएर ठगी गरेको त्र्यम्बकम सहकारी संस्था लिमिटेडेले घर भाडा समेत नदिएको भन्दै ताला तोडिएको छ । २ वर्ष देखिको घर भाडा नदिएकोले जनप्रतिनिधि, वडा सचिव, नेपाल प्रहरी र टोलवासीको रोहबरमा रहेर सहकारी रहेको भवनको ताला तोडी घर खाली गरिएको हो । 

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ अन्नपूर्ण टोलमा शिवकला पाण्डेको कित्ता नं. ३३४२ र ३७४७ नम्बरमा रहेको घरको ताला तोडिएको हो । सहकारी रहेको भवनमा सर्जिमिन गरी १ कोठामा उक्त सामान राखी घर खाली गराइएको हो । 

२०७७ साउन १ गते भाडामा लिएको घरको बिजुली बिल समेत नतिरेर विद्युत्  पनि कटौती भएको छ । मासिक १८ हजार भाडा दिने गरी ५ वर्षका लागि सम्झौता गरिएको तर भाडा नपाइएको घरधनीको दाबी छ । सहकारीमा डा. बद्री प्रसाद गौतम अध्यक्ष, लीला पौडेल उपाध्यक्ष, भास्कर गौतम सचिव, शंकर भण्डारी कोषाध्यक्ष, लक्ष्मण गौतम सल्लाहकार रहेका छन् । सदस्यको बचत फिर्ता गर्ने विषयमा सञ्चालक समिति अध्यक्षलाई आरोप लगाउँदै तर्किएका छन् ।

जडीबुटी उत्पादन निर्यात गरी मुनाफा पाउने  आसाले संस्थामा लगानी गर्दा लगानी डुबेको बताउँदै आफन्तजनको पैसा समेत लगानी गराउन प्रेरित गरेकोले अहिले समस्या परेको शेयर सदस्य लक्ष्मी खनाल बताउँछिन् ।

संस्थाले सोझा साझा जनताको करोडौँ रकम कुम्ल्याएर सञ्चालक समिति नै फरार रहेको र घर भाडा नतिरेकोले सर्जिमिन गरी घर खाली गराएको घर संरक्षक प्रमानन्द पाण्डेले बताए ।

सहकारीले बचत गरेको पैसा फिर्ता नगरेको भन्दै सदस्यहरूले यस अघि लुम्बिनी प्रदेशको सहकारी मन्त्रालयमा धर्ना दिएका थिए । करोडौँ रुपैयाँ ठगी गरेर फरार भएका अध्यक्ष बद्री गौतमले भैरहवामा रहेको आफ्नो घर पनि बिक्री गरी अन्यत्र बसाई सरिसकेको आरोप छ ।  

प्रतिक्रिया दिनुहोस