aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

गुमेकै हो त गभर्नरको 'विवेक', किन पर्दैछन् बारम्बार झमेलामा ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० साउन २०७६
गुमेकै हो त गभर्नरको 'विवेक', किन पर्दैछन् बारम्बार झमेलामा ?

काठमाडौं । कार्यकाल समाप्त हुन ८ महिनामा मात्र बाँकी रहेका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले एकपछि अर्को गर्दै विवादित निर्णय गर्न थालेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृतको उमेर ६५ वर्ष र अध्यक्षको ७० वर्ष तोकेपछि अदालतले त्यस्तो निर्णय रोकी दिएपछि उनी थप विवादित बन्न पुगेका छन् ।

गभर्नर नेपालको कार्यअवधि आगामी चैत ७ बाट समाप्त हुँदैछ । कार्यअवधि समाप्त हुन लागेका गभर्नर नेपाल पछिल्लो समयमा विवादित निर्णय गर्दै आएका छन् । 

अघिल्लो साता स्प्रेड गणना विधि, बफर र बैंकस्योरेन्सलगायतका निर्देशन उनले जारी गरे । यसले गर्दा उनीप्रति बैंकरहरु रुष्ट छन् । एकपछि अर्को गर्दै विवादित निर्णय गरेका कारण उनको साख गिर्दै गएको छ । राष्ट्र बैंकमा उनी इतिहासकै कमजोर गभर्नर सावित हुने अवस्थामा पुगेका छन् ।

पाँच वर्षे कार्यकालमा चुक्ता पुँजी वृद्धि गर्ने बाहेका अन्य राम्रो काम गर्न सकेनन् । आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीतिमा बिग मर्जरको प्रस्ताव ल्याउने उद्घोष गरेका थिए । अनेक दबाबपछि त्यो प्रस्तावबाट पनि उनी पछाडि हट्न बाध्य भए । कतिपय बिश्लेषकहरु आफुले चाहे अनुरुप मर्जरलाई अगाडी सार्न नसकेपछि कतै उनले विवेक गुमाएका त होइनन् भन्ने आशंका समेत व्यक्त गर्न थालेका छन् । उनका पछिल्ला निर्णयहरु अव्यवहारिक र धेरै कच्चा हुनुका पछाडिको कारणको समेत अहिले खोजि हुन थालेको छ । 

मौद्रिक नीतिमा चुक्ता पुँजीको २५ प्रतिशत ऋण पत्र ल्याउने नीति लिएर शेयरमा लगानीकर्तालाई रुबाउने काम गरे । त्यस्तो ऋणपत्र ल्याउँदा लगानी त्यस्तै बढी गर्ने र दोस्रो बजारमा शेयर किनबेच नहुने डरले शेयर बजार ओरालो लाग्न पुगेको छ । मौद्रिक नीतिपछि शेयर बजार करिब ६० अंकले घटेको छ । बिग मर्जर भन्दै कुर्लेका गभर्नर पछि त्यो प्रस्तावबाट ब्याक भएर थचारिन पुगे । अर्थमन्त्री डा. युवराज खतिवडाले उनले ल्याउन लागेको बिग मर्जको प्रस्तावलाई तुहाइ दिए ।

पछिल्लो समय बिग मर्जर गभर्नर नेपालका लागि टाउको दुखाईको बिषय बन्न पुग्यो । उनले सात्ता पक्षका नेता, अर्थमन्त्री र बैंक सञ्चालकहरुबाटै अनेक दबाब सहनु पर्यो। मौद्रिक नीति ल्याउने बेलामा नेपाललाई बिग मर्जर ओकल्नु न निल्नु बन्न पुग्यो । अन्ततः बिग मर्गरको प्रस्ताव त्याग्नु पर्यो । राष्ट्र बैंकको इतिहासमा भ्रष्टाचारका मुद्दामा बाहेक गभर्नर यति धेरै विवादमा परेको यो पहिलोपटक भएको राष्ट्र बैंकका कर्मचारीहरु बताउँछन् ।

मौद्रिक नीति ल्याउनुभन्दा करिब डेढ महिनाअघि गर्भनर नेपालले बैंकहरुलाई मौद्रिक नीतिपछि ‘बिहे गर्ने, अहिले लभ पार्दै गर्नुस्’ भन्ने आशयको अभिव्यक्ति दिएसँगै चर्चामा पुगेका गभर्नर नेपाल मौद्रिक नीतिपछि एकाएक शून्यमा पुगे ।

गभर्नर नेपालले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी चार गुणासम्म बढाउने नीति लिएका थिए । उनले लिएकै नीतिमा बैंक तथा वित्तीय संस्थाले साथ पनि दिए । तोकिए अनुसारको चुक्ता पुँजी बैंक तथा वित्तीय संस्थाले अहिले पुर्याइसकेका छन् । त्यसपछि हौसिएका गभर्नर नेपाल पछिल्लो समय स्वछन्द भए ।

गर्भनर आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीतिमार्फत फेरि बिग मर्जरको निर्णय लिएर चर्चामा आउने तयारीमा थिए । गर्भनर नेपाल जाँदा—जाँदै बिग मर्जरको नीति ल्याएर त्यसको बोनस सधै आफूले खाने प्रपन्चमा थिए । तर, उनको त्यो प्रस्ताव तुहाउने काम भयो ।

गर्भनर नेपालले बैंकहरुको चुक्तापुँजी वृद्धिमा आफू सफल भएको बारम्बार सार्वजनिक कार्यक्रममा भन्दै आएका छन् । तर, चुक्तापुँजी वृद्धिको नाममा बैंकहरुले हकप्रदको बाढी बगाएर बैकिङ प्रणालीमै समस्या निम्त्याएको र त्यसको असर अहिले शेयर बजारमा समेत देखिएको आरोप लगानीकर्ताले लगाउँदै आएका छन् । शेयर लगानीकर्ता समेत उनीप्रति रुष्ट छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) को अभाव हुँदा समेत गभर्नर नेपालले चासो देखाएनन् । उद्योग व्यवसायीहरुले कर्जाको ब्याजदर घटाउन बारम्बार आग्रह गर्दा पनि गभर्नर नेपालले कुनै टेर पुच्छर लगाएनन् ।

समस्या जहाँ छ, त्यसलाई समाधान गर्नतिर भन्दा पनि चर्चा कमाउने बाटोतिर मात्र उनी लागे । यसले उनको कद मात्र होचो भएन राष्ट्र बैंकको कद समेत होचो भयो । समस्या समाधानतिर लागेको भए गभर्नर नेपालको जय हुने थियो ।  समस्याबाट भागेर  गभर्नर नेपाल आफ्नो पारामा हिडन थाले त्यसले पनि उनलाई कमजोर बनाउने काम गरेको हो ।

प्रतिक्रिया दिनुहोस