
काठमाडौं । आधुनिक प्रविधिको विकास र विस्तारसँगै विश्वलाई एउटा सानो घेरामा आम नागरिकले राख्न पाउने र आफ्नो अविस्मरणीय पलहरूलाई डिजिटलरुपमा सञ्चित गरी राख्न पाउने सामर्थ्यको विकास भएको छ ।
यसका लागि सरकारी तथा गैरसरकारी संस्थाका साथसाथै बैंक तथा वित्तीय संस्थाहरूले समेत नेपाल सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई सफल बनाउन एकपछि अर्को प्रविधिमैत्री कारोबारलाई अगाडि बढाएका छन् । जसमा ग्लोबल आइएमई बैंकको भूमिका विशेष र महत्त्वपूर्ण रहेको छ ।
ग्लोबल आइएमई बैंकले ग्राहकहरूको मीठो सम्झना तथा अविस्मरणीय पलहरूसँग जोडिएको आफ्नो रोजाइको फोटोलाई आफ्नो डेबिट कार्डसँगै जोड्ने प्रविधिको विकास गरेको छ ।
बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना अन्तर्गत ग्राहकको जीवनका फरक अनुभूति र अविस्मरणीय पलहरूलाई आफ्नो डेबिट कार्डमा आफ्नै रोजाइको तस्बिर राख्न पाउने बैंकका डिसिईओ सुरेन्द्रराज रेग्मीले जानकारी दिए ।
उनले भने, ‘ग्लोबल आइएमई बैंकले बैंकका ग्राहकहरूको व्यक्तिगत रोजाई, फरक अनुभूति तथा जीवनको पल–पलका यादहरूको स्मरण गराउने गरी आफ्नो डेबिट कार्डमा तस्बिर राख्न सकिने गरी प्रविधिको विकास गरेको छ । यसले अरू कुनै तरिकाबाट सुरक्षित गरी राखेको आफ्ना तस्बिरहरूलाई भन्दा फरक ढङ्गले एटिएम कार्डमा नै सुरक्षित राखी मानिसले फरक अनुभूति खोजिरहेको अवस्थालाई पूरा गर्ने प्रयास गरेका छौँ । आशा छ, ग्राहकले उक्त अनुभूति प्राप्त गर्नुहुनेछ, जसले गर्दा बैंकलाई थप ऊर्जाका साथ आगामी दिनमा अझ विस्तृत र प्रविधियुक्त तवरले अगाडि बढ्न सहयोग पुग्नेछ ।’
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले समय–समयमा यस्ता विभिन्न योजनाहरू ल्याउने गरेको छ । उक्त योजना अगाडी बढाएसँगै अब ग्लोबल आइएमई बैंकमा कारोबार गर्ने ग्राहकले आफ्नो रोजाइको तस्बिर आफ्नो एटिएम कार्डमा राख्न पाउने भएका छन् ।
यो प्रविधिको विकास विकसित मुलुकहरूमा भइसकेको छ तर नेपालको लागि भने यो नौलो प्रविधि हो जुन आम नागरिकको रोजाई समेत बनेको छ । यो प्रविधि नेपालमा भित्र्याउने ग्लोबल आइएमई बैंक नै पहिलो बैंक हो ।
‘समय सापेक्ष रूपमा ग्लोबल आइएमई बैंकले ग्राहकको सुविधालाई ध्यान दिँदै नवीनतम प्रविधिको साथमा आधुनिक योजनाहरू सार्वजनिक गर्ने गरेको छ’, रेग्मीले भने, ‘नेपाल सरकारले ल्याएको डिजिटल नेपाल निर्माणको अभियानमा समेत बैंकले ल्याएको सुविधा ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाले बैंकका ग्राहक वर्गहरूलाई आधुनिक प्रविधिको विकासमा टेवा पुग्ने विश्वास लिएका छौँ । जीवनको अविस्मरणीय यादहरुलाई पलपल सम्झना दिलाउनेछ । आफूले मोबाइल वा कम्प्युटरमा सेभ गरेर राखेको कुनै मीठो यादलाई बारम्बार खोजिराख्नु पर्ने झन्झटबाट समेत मुक्त गराउने छ ।’
कसरी उक्त डेबिट कार्डको लागि आवेदन गर्ने ?
ग्राहकले उक्त सुविधाको प्रयोग गर्दा बैंकको वेबसाइट मार्फत अनलाइनबाट आवेदन दिनुपर्ने छ । त्यसपछि ग्राहकहरूले वेबसाइटमा राखिएका पूर्व डिजाइनहरू भर्चुअल रूपमा हेर्न र आफूलाई मन पर्ने कार्डको डिजाइन छनौट गर्न सक्नेछन् । उक्त छनौट गरिएको डिजाइनमा आफूले चाहेको तस्बिर छनोट गरी कार्डका लागि आवेदन दिन सकिने छ । त्यसपछि बैंकले आफ्नो नियम अनुसार तस्बिर प्रमाणित गरी आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखाबाट उक्त डेबिट कार्ड लिने सकिने बैंकले जनाएको छ । अनलाइनबाट आवेदन गरिएको उक्त डेबिट कार्ड तत्कालै ग्राहकले हेर्न पाउने व्यवस्था समेत रहेको छ ।
बैंकको ग्राहकसँगको सेवा विस्तार
बैंकले हालसम्म बैंकिङ्ग सेवाको पहुँच ७७ जिल्लामा २८९ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय गरी करिब ८७५ सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । त्यस्तै बैंकले अमेरिका, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङ्कङलगायतका मुलुकहरूबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थव्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस