aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एक महिनामा वाणिज्य बैंकबाट बाहिरियो एक खर्ब ८ अर्ब निक्षेप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ भदौ २०७९
एक महिनामा वाणिज्य बैंकबाट बाहिरियो एक खर्ब ८ अर्ब निक्षेप

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना अर्था साउनमा वाणिज्य बैंकहरुबाट एक खर्ब रुपैयाँ भन्दा बढी निक्षेप बाहिरिएको छ । गत असार महिनाको ३२ गतेदेखि साउन ३१ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप एक खर्ब ८ अर्ब रुपैयाँ निक्षेप घटेको हो । 

गत असार ३२ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप साउन ३१ गतेसम्म आइपुग्दा ४४ खर्ब ३३ अर्ब रुपैयाँमा सिमित बनेको छ । यस महिनाको अवधिमा एक खर्ब ८ अर्ब रुपैयाँ निक्षेप घटेको संघले जनाएको छ ।

असार ३२ गतेदेखि साउन ६ गतेसम्मको अवधिमा ६३ अर्ब रुपैयाँले निक्षेप घटेको थियो । त्यस्तै, साउन ६ गतेदेखि १३ गतेसम्म २८ अर्ब, साउन १३ गतेदेखि २० गतेसम्म ४ अर्ब र साउन २० गतेदेखि २७ गतेसम्मको अवधिमा २५ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुको निक्षेप घटेको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ ।

साउन लागेयता निरन्तर गिरावटमा आएको निक्षेप अन्तिम साता भने केहि सुधार भएको देखिएको छ । साउन २७ गतेदेखि ३१ गतेसम्मका अवधिमा वाणिज्य बैंकहरुमा १२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।  

त्यस्तै, चालू आर्थिक वर्षको पहिलो महिना साउन महिनामा कर्जा प्रवाह दुई अर्ब रुपैयाँले बढेको छ । असार ३२ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह साउन ३१ गतेसम्म आइपुग्दा दुई अर्ब रुपैयाँले बढेर ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस