aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शुरु भयो सहकारीमा पनि मर्जरको लहर, पाँच सहकारी एक भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ भदौ २०७९
शुरु भयो सहकारीमा पनि मर्जरको लहर, पाँच सहकारी एक भए

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्था मात्र होइन बीमा कम्पनीसँगै सहकारीहरु पनि मर्ज भएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पाँचवटा सहकारी संस्थाहरू मर्जमा गएका छन् । 

काठमाडौँमा सञ्चालित आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी संस्थाबीच मर्जरको सम्झौता भएको हो । 

मर्जरको सम्झौता गरेका सहकारीहरुले १ महिनाभित्र वार्षिक साधारण सभा गर्ने र त्यसको १५ दिन भित्र एकीकृत साधारणसभा गर्ने भएका छन् । मर्जरपछि संस्थाको नाम ’नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था हुनेछ । भने संस्थाको कुल सेयर पुँजी ३० करोड ८१ लाख २२ हजार रुपैयाँ पुग्नेछ । 

त्यस्तै संस्थाको जगेडा कोषमा १४ करोड ६६ लाख, कर्जा जोखिम कोष १२ करोड ४२ लाख ३५ हजार, कुल संस्थागत पुँजी १६ करोड ९४ लाख २९ हजार, अन्य कोषहरू २ करोड २७ लाख ३९ हजार, कुल बचत ५ अर्ब ६३ करोड ७० लाख रुपैयाँ रहनेछ । 

त्यस्तै, लगानीमा रहेको ऋण ४ अर्ब २७ करोड ४५ लाख, वित्तीय लगानी ४ करोड २७ लाख २९ हजार, तरलता रकम १ अर्ब ३८ करोड ४८ लाख रहनेछ भने ऋणी सदस्यहरूको सख्या ६ हजार ८ सय ५८ जना हुनेछ ।

मर्जरपछि संस्थाको कुल सम्पत्ति ७ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ भने ३० हजार २० जना शेयर सदस्यहरु रहनेछन् । मर्जरपश्चात् संस्थाको अध्यक्ष ज्ञानबहादुर तामाङ बन्नेछन् भने प्रमुख कार्यकारी अधिकृत (सिईओ) हालको आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कुयाङ लामाले सम्हाल्नेछन् ।

उक्त कार्यक्रम राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा बोल्दै कडेलले नगरपालिकाभित्रका वित्तिय सहकारी कारोबार गर्ने सहकारीको दर्ता बन्द गर्नुपर्ने बताए । साथै उनले अन्य संस्थाहरुले पनि मर्जरको  अभियानलाई निरन्तरता दिनुपर्ने बताए । 
 

प्रतिक्रिया दिनुहोस