aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मर्जर प्रक्रियाका ३ विकास बैंकको नाफा सन्तोषजनक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ साउन २०७६
मर्जर प्रक्रियाका ३ विकास बैंकको नाफा सन्तोषजनक

काठमाडौं । मर्जर प्रक्रियामा रहेका तीन कम्पनी भार्गव, पूर्णिमा र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले गत आर्थिक वर्ष २०७५÷७६ को चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । तीन ओटै कम्पनीको वित्तीय विवरण सन्तोषजनक देखिएका छन् । यी तीन ओटै कम्पनीले एक आपसमा मर्जरमा जानका लागि आवश्यक प्रस्ताव साधारण सभा मार्फत पारित समेत गरिसकेका छन् ।

चौंथो त्रैमासको वित्तीय विवरण अनुसार भार्गव विकास बैंकले ६ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा  ३ करोड ९६ लाख रुपैयाँ रहेको थियो । अघिल्लो वर्ष  ६ करोड २२ लाख रुपैयाँ  सञ्चालन मुनाफा गरेको कम्पनीले गत वर्ष. ९ करोड ५२ लाख रुपैयाँ  गर्न सफल भएको छ । यस अवधिमा कम्पनीले  ३ अर्ब ७३ करोड ७५ लाख रुपैयाँ  निक्षेप संकलन गरेको छ भने ३ अर्ब ३९ लाख रुपैयाँ  कर्जा प्रवाह गरेको छ । भार्गवको चुक्तापूँजी  ५० करोड १६ लाख रुपैयाँ  रहेको छ भने जगेडा कोषमा १० करोड २९ लाख रुपैयाँ  रहेको छ ।

त्यस्तै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले गत आवमा  ४१ करोड ५ लाख रुपैयाँ  खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आवमा  ३२ करोड ६२ लाख रुपैयाँ  रहेको थियो । बैंकको चुक्तापूँजी  १ अर्ब ६२ करोड २६ लाख रुपैयाँ  रहेको छ । जगेडा कोष रकम  ४२ करोड १५ हजार रुपैयाँ  छ । 

पूर्णिमा विकास बैंकले पनि गत आवमा  ८ करोड ३९ लाख रुपैयाँ  खुद नाफा गरेको छ । अघिल्लो वर्ष यो नाफा  ८ करोड १७ लाख रुपैयाँ  थियो । हाल यस बैंकको चुक्तापूँजी ५५ करोड १२ लाख रुपैयाँ  रहेको छ भने जगेडा कोष रकम  ९ करोड ३० लाख रुपैयाँ  छ । भार्गवको प्रतिशेयर आम्दानी  १३ दशमलव ३४, पूर्णिमाको  १५ दशमलव २२ र शाइन रेसुङ्गाको २५ दशमलव ३० रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस