aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मिटर व्याजी व्यापारी विरुद्ध कलाकार एक भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३२ साउन २०७६
मिटर व्याजी व्यापारी विरुद्ध कलाकार एक भए

काठमाडौं । विभिन्न कम्पनीको नाममा करोडौं ऋण अपचलन गरेका ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीविरुद्ध पीडितहरु एकजुट भएका छन् ।

शुक्रबार पत्रकार सम्मेलनमा गायक रामकृष्ण ढकाल, अभिभावक संघका अध्यक्षसमेत रहेका जग्गा व्यापारी केशव पुरी, रविन्द्र थापा, लेखनाथ पौडेलले पत्रकार सम्मेलन गरेर लालीगुँरासले ठगी गरेको आरोप लगाए । उनीहरुले आफूहरुलाई झुक्याएर गैरकानुनीरुपमा धितो लिलाम गर्ने, भेट्न नमान्ने, विवरण उपलब्ध गराउन नमान्ने गरेको जस्ता आरोपका छन। 

ढकालसहितका व्यक्तिहरुले भने आफूहरु वास्तवमै लालीगुराँस सहकारीबाट पीडित भएको दावी गरेका छन । पत्रकार सम्मेलनमा न्यू बज्राचार्य, निर्मल शर्मा, संदीप क्षेत्री जस्ता केही कलाकारलाई पनि सहभागी रहेका थिए ।

शितल खत्री, रविन्द्र थापा, योगेन्द्र सिलवाल, केशव पुरीलगायतका दर्जनौ पीडितहरुले आफूलाई लालीगुराँसका कार्यकारी निर्देशक भण्डारीले घर न घाटको बनाएको भन्दै केही वर्ष अघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) मा उजुरी दर्ता गराएका थिए । तर, भण्डारीले त्यतिखेर सिआईवीमा प्रमुख रहेका तत्कालिन डिआईजी (हालका एआईजी) पुष्कर कार्कीसँग सेटिङ मिलाएर कारबाहीबाट जोगिदै आएको केही पीडितहरु नै बताउँछन् ।

 छोरी प्रीसा सिंह भण्डारीको नाममा स्थापना भएको कम्पनीको सञ्चालकमा भने आफ्नै श्रीमती प्रमिला बस्नेत भण्डारी छिन् । शुरुमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता रहेको उक्त कम्पनी मार्फत गैरकानुनी कामहरु हुने गरेको पनि पाइएको छ ।

 श्री लालीगुराँस सहकारी मार्फत ऋणीहरुलाई २१ प्रतिशत ब्याज र २० प्रतिशत पेनाल्टीको नाममा ‘मिटर ब्याज’ धन्दा नै चलाउने गरिएको छ । उक्त रकम तिर्न नसक्ने सर्वसाधरण ऋणीको बहुमुल्य जग्गा लिलामी प्रक्रियामा लाने र लिलामी सकार्न भने आफ्नै श्रीमतीको कम्पनी खडा गरिएको पाइएको छ । त्यति मात्रै होइन लिलामी सकार्न उक्त कम्पनीले लालीगुँरास सहकारीबाटै लङटर्म एग्रीकल्चर लोनको शिर्षकमा ऋण निकाल्ने गरेको पाइएको छ । 

श्रीमती भण्डारीको स्वामित्वमा ‘प्रीसा इन्भेष्टमेन्ट एण्ड ट्रेडिङ कम्पनीले सहकारीबाट लिलामी गरिएका बहुमुल्य सम्पत्ति कम मुल्यांकनमा सकार्दै आएको तथ्य भेटिएको छ । त्यति मात्रै होइन उक्त कम्पनीले नै सहकारीले सञ्चालन गरेको डेरी फार्मको जग्गा खरिद गरी सहकारीलाई भाडामा दिएको समेत खुलेको छ । श्री लालीगुराँसबाट उक्त कम्पनीलाई करोडौँ ऋण प्रवाहा भएको समेत पाइएको छ ।

 ‘मास्टर लिस्ट अफ लोन’ अनुसार भण्डारीकी श्रीमतीको स्वामित्व रहेको प्रीसा इन्भेष्टमेन्टलाई सन् २०१३ र १४ मा चार करोड ७८ लाख र ७१ लाख ५० हजार गरी ५ करोड ४९ लाख ५० हजार ऋण दिइएको देखिन्छ । 

ललितपुरको जावलाखेल ४ ठेगाना देखाइएको उक्त कम्पनीले कम्पनी रजिष्ट्रार कार्यालयमा रियल स्टेट र घर भाडासम्बन्धि काम गर्ने शिर्षकमा अनुमति लिएको देखिन्छ । चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर १२ कमरोजमा २०७० देखि शुरु भएको गाई फर्मममा १९ विघा जग्गा प्रीसा इन्भेष्टमेन्टले नै खरिद गरेको थियो । उक्त जग्गा सहकारीले भने भाडामा लिएको पाइएको छ । तर, डेरी फार्मले भने विभिन्न शिर्षकमा सहकारीबाट करोडौं रकम ऋण लिएको छ ।

एग्रिकल्चर प्रोजेक्टका नाममा एकै साथ करोडौं रकम निकालिएको रेकर्ड यसअघि नै सार्वजनिक भइसकेको छ । श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टरको नाममा सन् २०१२ मे ५ मा कृषि प्रोजेक्टको नाममा १५ करोड ९२ लाख ७९ हजार २ सय ८९ रुपैयाँ ऋण प्रवाह भएको देखिन्छ ।

 तर, १५ करोड लगानीको कुनै भौतिक संरचना वा लगानी भने देखिँदैन । यत्तिका रकम निकाल्दा ब्याजदर भने शुन्य प्रतिशत उल्लेख छ । त्यस्तै सन् २०१७ जुन २२ मा श्री लालीगुराँस डेरी प्रोसेसनको नाममा ७९ हजार ४ सय ४४ रुपैयाँ ऋण प्रवाहा भएको देखिन्छ । जग्गा खरिदमा भण्डारीले करोडौं कमिशन खाएको लालीगुराँस सहकरीकै कर्मचारीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस