aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रक्रिया पुरा नगरी आफूखुशी मर्ज हुँदै सहकारी

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • सोमबार, २० भदौ २०७९
प्रक्रिया पुरा नगरी आफूखुशी मर्ज हुँदै सहकारी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा चलेको मर्जरकाे लहर सहकारी क्षेत्रमा पुगेको छ । पछिल्लो केही दिनयता मात्रै २५ वटा सहकारी संस्थाहरु एकआपसमा गाभ्ने/गाभिने सहमति गरी मर्जरको सम्झौता गरिसकेका छन् । एकाएक सहकारीमा चलेको मर्जरको लहर कानुनी रुपमा वैद नभएको सहकारी विभागले जनाएको छ । मर्जरमा जानुअघि ती संस्थाहरुले सहकारी विभागबाट अनुमति लिनुपर्ने विभागको भनाइ छ । तर, उनीहरुले अनुमति नलिई आफूखुशी मर्जरका लागि सम्झौता गरिरहेका छन् । 

विभागले अनुमति दिएपछि मात्रै मर्जरमा जानुपर्ने भएपनि सहकारीहरु विभागलाई नै जानकारी  नदिई मर्जरकाे सम्झौता गरिरहेको सहकारी विभागका रजिष्ट्रार रुद्रराज पण्डित बताउँछन् । उनी भन्छन्, ‘कतिपय सहकारी संस्थाहरुले मर्जरमा जानलाई सम्झौता गरिेहका छन् भन्ने सुनिएको छ । मर्जरमा जानुअघि विभागबाट अनुुमति लिनु पर्ने कानुनी व्यवस्था छ । तर, यहाँ विभागलाई नै जानकारी छैन ।’ सहकारी कानुनमा भएको व्यवस्थालाई उल्लंघन गर्दै सहकारीहरुले विभागमा जानकारी नगराई आफूखुशी मर्जमा जान नहुने उनको तर्क छ । 

रजिष्ट्रार पण्डितको जस्तै तर्क राख्छन् विभागका उपरजिष्ट्रार टोलराज अधिकारी । उनी भन्छन्,‘मर्जरमा जाने सहकारीहरुले शुरुवातमा विभागसँग अनुमति माग्नुपर्छ । तर, अनुमति बिना सहकारीहरू मर्जरमा गइरहेका छन् । मर्जरमा जानुअघि के गर्नु हुन्छ के गर्नु हुँदैन भनेर निर्देशन समेत जारी गरिसकेका छौं ।’

विभागले जारी गरेको निर्देशनमा सहकारी मर्जरमा गएपछि पदाधिकारीमा समावेशीता कायम हुनुपर्ने, २०४९ साल जेठ २ गते भन्दा अगाडि स्थापना भएका साझा सहकारी संस्थाहरुको एकीकरण गर्दा मन्त्रालयको स्वीकृत लिनुपर्ने, मर्जरमा जाँदा तदर्थ समिति गठन भएको मितिले तीन दिनभित्र विभागलाई जानकारी गराउनु पर्ने उल्लेख छ ।

निर्देशनमा भनिएको छ, ‘सहकारी संघ/संस्था एकीकरण सम्बन्धी कार्यविधि, २०७० अनुसार दुई वा दुई भन्दाबढि संघ÷संस्थाले एक आपसमा एकीकरण हुन चाहेमा एकीकरण कार्यको समय सीमा र तोकिएको प्रस्तावित कार्ययोजना सहति आ–आफ्नो सञ्चालक समितिबाट प्रस्ताव पारित गरी सो सम्बन्धी कार्य गर्न विभाग कार्यालयमा निवेदन दिनुपर्छ ।’

उता, राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल भने मर्जरमा जान तीन पटक साधारण सभा र सञ्चालक समिति छनौट गरे पुग्ने जिकिर गर्छिन् । उनी भन्छिन्, ‘मर्जरमा गएका सहकारीहरुले प्रक्रिया नपुर्याएको भनेर सहकारी विभागबाट गुनासो पनि आएको छ । तर, मर्जरमा जाने सहकारीहरुले तीन पटक साधारणसभा गर्नुपर्छ र सञ्चालक समिति छनौट गरे हुन्छ ।’

कतिले गरे मर्जरको सम्झौता ?

हालसम्म २५ वटा सहकारी संस्थाहरुले मर्जरको सम्झौता गरिसकेका छन् । गत भदौ ११ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पाँचवटा सहकारी संस्थाहरू मर्जरको सम्झौता गरेका थिए । त्यसलगत्तै भदौ १७ गते नौ वटा र १८ गते एघार वटा गरी २५ वटा सहकारी संस्थाहरुले मर्जरको सम्झौता गरेका हुन् । 

गत भदौ ११ शनिबार काठमाडौँमा सञ्चालित आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी संस्थाबीच मर्जरको सम्झौता भएको हो । 

मर्जरको सम्झौता गरेका सहकारीहरुले १ महिनाभित्र वार्षिक साधारण सभा गर्ने र त्यसको १५ दिन भित्र एकीकृत साधारणसभा गर्ने भएका छन् । मर्जरपछि संस्थाको नाम ’नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था हुनेछ । भने संस्थाको कुल सेयर पुँजी ३० करोड ८१ लाख २२ हजार रुपैयाँ पुग्नेछ । 

त्यस्तै संस्थाको जगेडा कोषमा १४ करोड ६६ लाख, कर्जा जोखिम कोष १२ करोड ४२ लाख ३५ हजार, कुल संस्थागत पुँजी १६ करोड ९४ लाख २९ हजार, अन्य कोषहरू २ करोड २७ लाख ३९ हजार, कुल बचत ५ अर्ब ६३ करोड ७० लाख रुपैयाँ रहनेछ । त्यस्तै, लगानीमा रहेको ऋण ४ अर्ब २७ करोड ४५ लाख, वित्तीय लगानी ४ करोड २७ लाख २९ हजार, तरलता रकम १ अर्ब ३८ करोड ४८ लाख रहनेछ भने ऋणी सदस्यहरूको सख्या ६ हजार ८ सय ५८ जना हुनेछ ।

मर्जरपछि संस्थाको कुल सम्पत्ति ७ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ भने ३० हजार २० जना शेयर सदस्यहरु रहनेछन् । मर्जरपश्चात् संस्थाको अध्यक्ष ज्ञानबहादुर तामाङ बन्नेछन् भने प्रमुख कार्यकारी अधिकृत (सिईओ) हालको आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कुयाङ लामाले सम्हाल्नेछन् ।

त्यस्तै, भदौ १७ गते     शुक्रबार नौ वटा सहकारीले एकीकरणको सम्झौता गरेका छन् । शो दिन शुभलाभ बचत तथा ऋण सहकारी संस्था, जीवनदीप साकोस, सदस्य सेवा साकोस, शुभरत्न साकोस, एभरट्रष्ट साकोस,सर्वोच्च सम्वृद्धि साकोस, अष्ट साकोस, हाम्रो सेवा बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर गंगाजल बहुउद्देश्यीय सहकारी संस्थाले मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

मर्जरपछि संस्थाको नाम शुभ सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहनेछ । भने संस्था प्रधान कार्यालय न्यूरोडमा रहने छ । मर्जर पश्चात बन्ने संस्थाको शेयर पुँजी २७ करोड २९ लाख ६४ हजार रुपैयाँ पुग्नेछ । 

त्यस्तै, निक्षेप ४ अर्ब ८९ करोड ६४ लाख ६९ हजार रुपैयाँ, कर्जा लगानी ५ अर्ब ३० करोड २७ लाख ७२ हजार रुपैयाँ र कूल कारोबार ६ अर्ब ४९ करोड ३९ लाख ६१ हजार रुपैयाँ हुनेछ । यसैगरी ६१ हजार ७ सय ४९ जना शेयर सदस्य आवद्ध हुने नयाँ संस्थाको कर्जा जोखिम कोषमा ११ करोड ९१ लाख ९९ हजार रुपैयाँ, जगेडा कोषमा ९ करोड ८४ लाख ६० हजार रुपैयाँ हुनेछ ।

मर्जरपश्चात् संस्थाका अध्यक्ष शुभलाभ बचत कताथ ऋण सहकारीका अध्यक्ष याम्बर बहादुर कार्की बन्नेछन् भने र उपाध्यक्षमा जीवनदीप सहकारीका अध्यक्ष छत्र बस्नेत रहने सहमती भएको छ । संस्थाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी शितल प्रसाद शर्माले सम्हाल्नेछन् ।

त्यस्तै, भदौ १८ गते एघार ११ वटा सहकारी संस्थाहरुले एकीकरणमा जाने सम्झौता गरेका छन् । मर्जकारे सम्झौत ागर्ने सहकारीमा बचत तथा ऋण सहकारी संस्था र बहुउद्देश्यीय सहकारी संस्थाहर समेत रहेका छन् । शनिबार मर्जरको प्रारम्भिक सम्झौता गर्ने सहकारीहरुमा शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था, बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।

त्यस्तै, योजना बहुउद्देश्यीय सहकारी संस्था, उषाकिरण बचत तथा ऋण सहकारी संस्था, माउण्ट अपि, सुर्यदेव बचत तथा ऋण सहकारी संस्था, हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्था, दुर्गामाश्रिता बचत तथा ऋण सहकारी संस्था र पिपुल श्रोता बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् । 

मर्जरको सम्झौता गरेका सहकारीहरुले १ महिनाभित्र वार्षिक साधारण सभा गर्ने र त्यसको १५ दिन भित्र एकीकृत साधारणसभा गर्ने भएका छन् । मर्जरपछि संस्थाको नाम राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था हुनेछ । भने संस्थाको कुल सेयर पुँजी ५५ करोड ५० लाख रुपैयाँ पुग्नेछ । 

त्यस्तै, संस्थाको बचत निक्षेपमा ५ अर्ब ६५ करोड, ऋण लगानी ६ अर्ब २५ करोड रुपैयाँ र कुल कोषमा ३१ करोड ५० लाख रुपैयाँ रहनेछ । मर्जर पछि उक्त संस्थामा ४१ हजार सदस्य रहनेछन् । कुल कर्मचारी संख्या ५१० जना पुग्नेछ । संस्थाको कुल सम्पत्ती तथा दायित्व ७ अर्ब ७५ करोड हुने जनाएको छ । । मर्जरपश्चात् संस्थाको अध्यक्ष नरेन्द्र विष्ट बन्नेछन् भने र प्रमुख कार्यकारी अधिकृत (सीइओ) को जिम्मेवारी इन्द्रप्रसाद गेलाल सम्हाल्नेछन् । 

प्रतिक्रिया दिनुहोस