
काठमाडौं । गायक रामकृष्ण ढकाल सहकारीले आफ्नो घर खाइदिएपछि अझै पछि लाग्न नछोडेको भन्दै सहकारीमा ऋण लिन जानु आफ्नो जीवनको सबैभन्दा ठूलो भूल भएको बताउन थालेका छन् । सहकारीका कारण आफू डुबेको पत्रकार सम्मेलन नै गरेर ढकालले सार्वजनिक गरे ।
ढकालले आफ्नो पीडा सञ्चारमाध्यममा पोखे । तर, कतिपय नागरिक अहिले पनि सञ्चार माध्यमको पहुँचबाट टाढा छन् । उनीहरुको गाथा व्याथा सार्वजनिक हुन सकिरहेको छैन । त्यसैले उनीहरुको पीडा गुम्सिएर बसेको छ । सहकारीबाट पीडित हुँदा पनि पीडा सहेर बस्नुपर्ने बाध्यता उनीहरुको छ ।सरकारीको मिटर ब्याजले धेरै जना घरबार विहीन हुन पुगेका छन् । कतिपयले त आत्महत्या पनि गरिसकेका छन् । लघुवित्तले पनि त्यस्तै हालत बनाएको छ ।
सर्वसाधारण नागरिकलाई सहकारीमा बचत जम्मा गर्दा त्यसको ब्याज थोरै दिने गरेका छन् । तर, ऋण लिँदा २४ प्रतिशतसम्म ठटाउने गरेका छन् । त्यही पनि समयमा तिर्न नसकेको भन्दै जरिवाना अनि ब्याज पनि सावाँमा गाभेर त्यसको पनि ब्याज लिने गर्छन् ।सहकारीको यस्तो मनपरी तन्त्रलाई नियन्त्रण गर्न सरकारले कदम चाले पनि त्यो प्रभावकारी हुन सकेको छैन । साउन १९ गतेदेखि सरकारले सहकारीमा देखिएको बिकृतिको अन्त्य गर्दै १६ प्रतिशतभन्दा बढी ऋणमा ब्याज लिन नपाउने व्यवस्था गरेको छ । तर, त्यो लागू हुन सकेको छैन । अहिले पनि सहकारीहरुले मिटर ब्याज लिइरहेका छन् ।
सहकारीले मनपरी ढंगले ऋणमा ब्याज लिने गरेको गुनासो आएपछि सरकारले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको छ । तर, सहकारीले सर्वसाधारणबाट २४ प्रतिशतभन्दा बढी ब्याज लिँदै आएका छन् । सहकारी विभागका रजिस्टार डा. टोकराज पाण्डेले सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याज लिए कारबाही गर्ने बताए । तर, विभागले सहकारीहरुलाई प्रभावकारी रुपमा नियमन गर्न नसक्दा त्यो पनि कार्यान्वय हुन समस्या हुने बिज्ञहरुको ठहर छ ।
सरकारले भने सहकारीको ब्याजदरमा देखिएको बेथितिलाई नियन्त्रण गर्ने दोहोर्याइरहेको छ । कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने सबै खालका सहकारीको हकमा लागू भइसकेकाले त्योभन्दा बहिर गएर ऋण लगानी गर्ने सहकारीलाई कारबाही गर्ने पाण्डेको भनाइ छ । सहकारीमा सुशासन र पारदर्शिता कायम गर्न ब्याजदरमा एक रुपता कायम गरिएको उनले बताए । विभागको निर्णयमा सबै सहकारी अभियानकर्मीले मान्नु पर्ने बाध्यता भए पनि अझै पनि सहकारीले आफ्नो मनमैजी ऋणको ब्याज लिइरहेका छन् ।
सहकारी विभागले बचतको अधिकतम सीमा १० प्रतिशत तोकेको छ । सहकारीको बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । सहकारीले कर्जामा अधिकतम १६ प्रतिशत कायम गरेपछि बचतमा अधिकतम १० प्रतिशतसम्म दिन सक्ने विभागको भनाइ छ । सहकारीले चाहेमा कर्जामा १६ प्रतिशतभन्दा पनि कम ब्याज लिन सक्छन् । तर, बचत र कर्जाको ब्याजअन्तर ६ प्रतिशत कामय गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, सहकारीले बचतमा कम दिएर कर्जाको ब्याजदर भने चर्को लिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस