
काठमाडौं । वाणिज्य बैंकहरूले आगामी असोजमा निक्षेप ब्याजदर बढाउने भएका छन् । गत चैत महिनादेखि स्थिर रहेको ब्याजदर असोज महिनाबाट भने बढ्ने भएको हो ।
नेपाल बैंकर्स संघको सञ्चालक समितिको बैठकले ब्याजदर वृद्धि गर्ने निर्णय गरेको हो। असोज महिनामा बैंकहरुले निक्षेपको ब्याजदर बढाउने भएका हुन् । बैंकहरूले आफ्नो आवश्यकता अनुसार आफैँले ब्याजदर बढाउने वा नबढाउने निर्णय गर्न सक्ने संघले जनाएको छ ।
नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसीले असोज १ गतेदेखि बैंकहरुको निक्षेपमा ब्याजदर वृद्धि गर्न सकिने निर्णय गरेको बताए । उनले भने, ‘असोज १ गतेदेखि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गर्नु पर्ने निर्णय भएको छ । यसमा ब्याजदर बढाउने वा घटाउने भन्ने अधिकार बैंकहरुलाई नै दिएको छ ।’
असोज महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगततर्फ १२.०३ तथा संस्थागततर्फ १०.०३ प्रतिशत हुने नेपाल बैंकर्स संघले जनाएको छ । उपाध्यक्ष केसीले ब्याजदर वृद्धिपछि लुकेको पैसा पनि बाहिर आउछ कि भन्ने बैंकहरुको अपेक्षा रहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस