aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

यस्ता छन् डिजिटल बैंकिङमा चाडपर्व लक्षित आकर्षक अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० असोज २०७९
यस्ता छन् डिजिटल बैंकिङमा चाडपर्व लक्षित आकर्षक अफर

काठमाडौं । हिन्दुहरुको महान पर्व दशैंको अवसरमा बैंकहरुले डिजिटल बैंकिङमा विभिन्न छुटसहितका आकर्षक योजनाहरु सार्वजनिक गरेका छन् । बैंकहरुले विभिन्न छुटसहितको योजनाहरु सार्वजनिक गरेको हुन् । 

बैंकहरुले विभिन्न सामानको भुक्तानीमा अनलाइन सपिङ कम्पनीहरूसँग विभिन्न छुटको सम्झौता गरेर डिजिटल प्रविधिमा आम मानिसलाई आकर्षित गराउन खोजेको देखिन्छ । यसकासाथै डिजिटल प्रविधिबाट  धेरै वाणिज्य बैंकहरुले  बैंकिंङ च्यानलबाट दक्षिणा दिएमा नगद छुटको समेत व्यवस्था समेत गरेका छन् ।  

बैंक तथा वित्तीय संस्थाहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, पोस मेसिन, क्युआर कोड लगायतबाट डिजिटल कारोबार गर्न आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्दै आएका छन् । यहाँ हामीले डिजिटल कारोबार बढाउनका लागि दशैंको अवसरमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले दिइरहेको सुविधा र अफरहरूबारे उल्लेख गरेका छौँ  ।

हेरौँ, कसले कस्तो अफर ल्याए ?

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) 

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र ‘फोन पे’बिच दशैं तिहार लक्षित क्यासब्याक पार्टनरका रूपमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकले आफ्ना एनसीसी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई पहिलो पटक फोन पेको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढीमा १०० रुपैयाँसम्म क्यासब्याक प्रदान गर्नेछ ।

यस अफर अन्तर्गत सहभागिता जनाउनका लागि सामान खरिद वा विभिन्न किसिमको भुक्तानीका लागि सोही एप मार्फत भुक्तानी गरेको हुनुपर्नेछ । दशैं र तिहार गरी २ पटक यो अफर सञ्चालन हुने बैंकले जनाएको छ । 

दशैं लक्षित यस अफर असोज ७ गते देखि असोज १४ गतेसम्म सञ्चालन हुने र तिहारलाई लक्षित गरी कार्तिक २ देखि कार्तिक ६ गते सम्म सञ्चालन हुने बताइएको छ ।

बैंक अफ काठमाण्डू

बैंकले नेपालीहरूको आउँदै गरेको महान चाडपर्वहरू लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण ‘ई–कमर्श’ कारोबारमा नगद फिर्ता योजना ल्याएको छ । बैंकको कार्डवाहकहरूले विभिन्न इकमर्स प्याटफर्मबाट सामान तथा सेवाहरू खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेका  ग्राहकहरूले कारोबार गर्नु भएको रकमको १० प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँसम्म नगद फिर्ता पाउनेछन् ।

यस नगद फिर्ता योजना बुधवारबाट सुरु हुनेछ । यस नगद फिर्ता योजना अन्तर्गत बैंकको कार्डवाहकहरूले नगद फिर्ताको लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै सङ्ख्याको इकमर्स कारोबार गर्नुपर्ने छ  र कारोबार रकम १० हजार वा सो भन्दा बढी रकम हुनपर्नेछ । यदि कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने कार्डवाहकहरूले बैंकको वेबसाइटमा गई आफै कार्ड अनलाइन कारोबारको लागि दर्ता गर्न सक्नेछन् ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल संवत् एवं छठ लगायतका पर्वलाई मध्यनजर नयाँ अफर ल्याएको छ । बैंकले चाडपर्वलाई लक्षित गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसको माध्यमबाट प्रति कारोबार एक हजार वा सो भन्दा बढीको कार्ड स्वाप गर्दा क्यास ब्याक हुने अफर ल्याएको हो ।

यो योजना आगामी असोज १० गते देखि कार्तिक १३ गतेसम्म लागू हुने छ । देशभर विभिन्न व्यवसायहरूमा रहेको पीओएस को माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट राष्ट्रिय वाणिज्य बैक कै पीओएस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ ।

यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वापमा ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५ सय रुपैयाँ ६ देखी १० पटकको कार्ड स्वाप मा १० प्रतिशत अधिकतम क्यास ब्याक वा ७५० रुपैयाँ वा ११ देखी १५ पटकको कार्ड स्वापमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा १ हजार मध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुने छ । राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी क्युआर स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा एक सय रुपैयाँ जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने जनाइएको छ ।

एनआईसी बैंक

एनआईसी बैंकले एसिया दराज ई–कमर्सबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्ने उद्देश्य अनुरूप दराजसँग सम्झौता गरेको छ । गत भाद्र २९ गतेदेखि असोज ११ गतेसम्मको लागि लागू हुने गरी सम्झौता भएको हो ।

यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा दुई हजार रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ । क्रेडिट कार्ड मार्फत खरिद गर्दा २० प्रतिशत वा दुई हजार पाँच सय रुपैयाँसम्मको छुट उपलब्ध हुनेछ ।

चाडपर्वलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न दराजसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो । आफ्नो कार्डमा ई–कमर्स भुक्तानी सुविधा नलिएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आईसर्भ मार्फत एवं एपमार्फत सोझै सहज रूपमा आफ्नो कार्डमा ई–कमर्स सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।   

सानिमा बैंक

दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरूका लागि दराजसँग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहरूले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत अधिकतम २ हजार ५ सय रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई “पहिलोलाई प्राथमिकता”को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

यो योजना भाद्र २९ देखि आश्विन ११ गतेसम्म १४ दिनका लागि लागू हुनेछ । साथै, सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई मासिक किस्ताबन्दी सुविधा लिँदा ५०० को क्यासब्याक पनि प्रदान गर्नेछ ।  क्यासब्याक योजना आश्विन १ देखि कार्तिक ३० गतेसम्म लागू हुनेछ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकका एससीटी डेबिट काडकार्ड प्रयोगकर्ताहरूले  दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक अफर सार्वजनिक गरेको छ । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज्सँगको सहकार्यमा यसपालीको दशैंका लागि एससीटी डेबिट कार्ड भएका ग्राहक लक्षित एससीटि तथा युपीआइ कार्डको दमदार दशैं धमाका थ्री–डि अफर अन्तर्गत ग्राहकहरूले क्यासब्याक प्राप्त गर्नुहुनेछ ।

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससीटि डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात्  एक हजार रुपैयाँ (अधिकतम) सम्म क्यासब्याक पाइने बैंकले जनाएको छ ।

नबिल बैंक

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि.शुल्क क्रेडिट कार्ड योजना ल्याएको छ ।  

यस आवास कर्जा घर खरिद, घर निर्माण, तल्ला थप, रङ्ग रोगनका लागि उपलब्ध गरिएको छ । बैंकका अनुसार पहिलो घर खरिदकर्ताका लागि घरको मूल्याङ्कनको ७० प्रतिशत सम्म कर्जा लिन सक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशतसम्म कर्जाको व्यवस्था गरिएको छ । 

३५ वर्ष सम्मको कर्जा अवधि सुविधा भएको यस आवास कर्जामा सरल र सानो किस्ताबाट बिस्तारै कर्जा चुक्ता गर्ने सुविधा पनि नबिल बैंकले प्रदान गरेको छ । यो योजना सीमित अवधिका लागि ल्याइएको पनि बैंकले जनाएको छ ।   

यस योजनापश्चात् सिटी कार्ड होल्डर ग्राहकहरूलाई एससीटि कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ । असोज १ गतेदेखि दशैंभर चल्ने यो योजनामा कम्तीमा ३ वटा पस कारोबार गर्ने कार्ड होल्डरलाई  ५०० रुपैयाँ तथा कम्तीमा ६ वटा पस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई एक हजार रुपैयाँ क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ । 

कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकले नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले आफ्ना फोन पे क्युआर ग्राहकहरूलाई चाडपर्वको समयमा डिजिटल भुक्तानी गरी चाडपर्व अझै रमाइलो र भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको हो ।

यो योजना अनुसार बैंकले आफ्ना फोन पे क्युआर ग्राहकहरूलाई मिति यही असोज ९ गते देखि लागू हुने गरी डिजिटल भुक्तानी मार्फत आकर्षक छुट प्रदान गर्नेछ । ‘यस चाडपर्व लाइफ इजी बनाऔँ, नगद छोडौँ फोन पे गरौँ’ भन्ने नाराका साथ क्युआर ग्राहकहरूले क्युआर प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १० प्रतिशत वा एक सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै फोनपेबाट क्युआर, आइबीएफटी तथा अनलाइन पेमेन्ट गर्दा ग्राहकहरूले हरेक दिन १ लाख जित्न सक्नेछन् । साथै फोन पे क्युआरबाट भुक्तानी लिँदा व्यवसायीहरूले हरेक दिन स्मार्टफोन जित्न सक्नेछन् । 

प्रभु बैंक

आउँदै गरेको बडादशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी प्रभु बैंकले ‘रेमिटेन्स पटाऊँ, उच्च ब्याज कमाऊँ’ योजना सार्वजनिक गरेको छ । बैंकले विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रूपमा जम्मा गर्दा प्रभु उन्नति मुद्दती खातामा वार्षिक १५.१३ प्रतिशत प्रदान गर्ने भएको छ । यो हाल बैंकहरुले रेमिट्यान्स बचतमा प्रदान गरिरहेको सबैभन्दा उच्च ब्याजदर हो ।

त्यस्तै बैंकले प्रभु उन्नति बचत खातामा वार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणको माध्यमबाट औपचारिक रूपमै नेपालमा भित्रिन प्रेरणा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैकले लिएको छ । यो योजना आगामी असोज १ देखि लागू भएको हो ।

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले दशैँ तिहारलाई लक्षित गर्दै आशीर्वाद बचत खाता योजना सार्वजनिक गरेको छ । बैंकले नेपालमै पहिलो पटक सर्वाधिक १ करोड १ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने “मुक्तिनाथ आशीर्वाद बचत खाता” योजना सञ्चालनमा ल्याएको हो ।

मुक्तिनाथ आशीर्वाद बचत खाता गोल्डमा न्यूनतम ५० हजार मौज्दात राखेर खाता खोल्नु हुने खातावालाहरूले आफ्नो लागि २१ लाख र परिवारको २ जना सदस्यहरूको लागि ३० लाख गरी कुल ५१ लाख सम्मको बीमा सुविधा दिने भएको छ । साथै विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरूमा समेत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

कुमारी बैंक

कुमारी बैंकले एफ१सफ्ट प्रालि तथा फोन पेसँगको सहकार्यमा दशैँ, तिहार र छठ अफर ल्याएको छ । यसमा क्यासब्याक पाउनेदेखि आईफोन १३ जित्नेसम्मको मौका मिल्ने जनाइएको छ । यसअनुसार मोबाइल बैङ्किङ टपअपमा असोज ४ देखि कात्तिक १३ सम्म एक भाग्यशाली ग्राहकले कम्तीमा ५ पटकको २ सयसम्मको टप अप गर्दा आईफोन १३ जित्न सक्नेछ । त्यस्तै भिसा कार्डका ग्राहकले पहिलो पटकको कारोबारमा न्यूनतम ३० प्रतिशत वा ३०० रुपैयाँसम्मको क्यासब्याक पाउनेछ ।

मोबाइल बैङ्किङका क्युआर प्रयोगकर्ताले असोज १० देखि २३ गतेसम्म र कात्तिक ७ देखि १३ गतेसम्म पहिलो क्युआर कारोबारमा ३० प्रतिशत वा ३ सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । त्यस्तै सोही मितिमा लागू हुने गरी ग्राहकले कार्ड र मोबाइल बैङ्किङ ग्राहकमध्ये एक जनाले क्युआर कारोबारमा विद्युतीय स्कुटर जित्न सक्नेछन् ।

बैंकको मोबाइल बैङ्किङ टपअप क्यासब्याकमा असोज १० देखि कात्तिक १३ सम्म अधिकतम ३० प्रतिशत वा सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । टेलिकम, एनसेल र स्मार्ट सेलमा कुमारी मोबाइल बैङ्किङ एपबाट कारोबार गर्दा उक्त क्यासब्याक पाउन सकिनेछ । त्यसैगरी मोबाइल बैङ्किङ डिजिटल दक्षिणा प्रयोगकर्ताले असोज १९ गते टीकाको साइतमा शतप्रतिशत क्यासब्याक पाउन सक्नेछन् । यस्तो उपहार २० ग्राहकले पाउन सक्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस