
पोखरा । पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लि. को चौधौं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भयो । साधारण सभाको उद्घाटन गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि बुढाले संघीय तथा प्रदेश सरकारले ल्याएको सहकारीसम्बन्धी नीति, विनियम र नियमावली अनुसार सहकारी चल्नुपर्ने र सरकारले पनि सहकारी सञ्चालनमा सहज बनाउनुपर्ने कुरामा जोड दिएका थिए । मन्त्री बुढाले अहिलेको बजारको अवस्थालाई मध्यनजर गर्दै सहकारीहरूले आफ्ना शेयर सदस्यहरूलाई आयआर्जनका कार्यक्रमहरूमा आकर्षित गर्नुपर्ने भनाइ राखेका थिए ।
साधारण सभामा मुनाल सहकारीका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद हुमागाइलार्ई वर्षभरि उत्कृष्ट बितिय कारोबार गरेबापत संस्थाको तर्फबाट सम्मान गरिएको थियो । सम्मानित भएका हुमागाई सफल मिडिया हाउस प्रालिका अध्यक्ष तथा कार्यकारी निर्देशक पनि हुन । त्यस्तै शेयर सदस्य कमल पाइजालाई उत्कृष्ट कर्जा उपभोगकर्ताको रूपमा सम्मान गरिएको थियो । सोही अवसरमा उत्कृष्ट कर्मचारीबाट संस्थाका कर्मचारी रितेश जी.सी. लाई पनि सम्मान गरिएको संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठले बताए ।
कार्यक्रममा गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्याल, गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख तथा प्रवक्ता डा. गृष्म नेउपाने, पोखरा फाइनान्स लि. का प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरूङ, नेपाल पत्रकार महासंघ, कास्कीका पूर्व सभापति दीपेन्द्र श्रेष्ठ, सहकारीका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद हुमागाईं, संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार मेघनाथ काफ्ले, पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष किरणप्रसाद बन्जारालगायतका वक्ताहरूले सहकारीको बारेमा बोलेका थिए ।
सहकारीका अध्यक्ष मगनलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डा. विष्णुप्रसाद चापागाईंले स्वागत मन्तव्य तथा कार्यसमिति सदस्य डिलकुमारी पौडेलले सहकारीका सात सिद्धान्त वाचन गरेको बताइएको छ । कार्यक्रमको सञ्चालन संस्थाका सचिव नारायणबहादुर थापाले गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष रमेशकुमार पौडेलले संस्थाको हालको शेयर पुँजी ५ करोड ३९ लाख ७६ हजार ७ सय रूपैयाँ, निक्षेप १५ करोड ८९ लाख ८ हजार ७ सय ३८ रहेको र शेयर सदस्यमा लगानी १८ करोड ८९ लाख ५३ हजार ८ सय ४४ रूपैयाँ रहेको जानकारी गराए भने लेखा समितिका संयोजक रोशनजंग कार्कीज्यूले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस