aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सरकारले झुक्यायो,  बैंकले दिएनन् ऋण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ भदौ २०७६
सरकारले झुक्यायो,  बैंकले दिएनन् ऋण

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत ऋण दिने घोषणा गरे पनि त्यस्तो सुविधा पाउनेको संख्या न्यून रहेको पाइएको छ।

वैदेशिक रोजगार बोर्डले स्वदेशमै उद्यम गर्ने चाहना राख्ने युवालाई लक्षित गरी सार्वजनिक सूचना जारी गरेको थियो । सोही सूचना अनुसार आवेदन दिएकामध्ये १८ हजार सात सय ३७ सहलियत ऋणका लागि योग्य रहेको भन्दै बोर्डले सूचीकरण गरेको थियो। त्यसरी माग गरिएको आवेदन अनुसार युवाले १६ अर्ब रूपैयाँ भन्दा बढी रकम ऋण लिन खोजेको बोर्डले जनाएको छ।

सहुलियत ऋणका लागि ठूलो संख्याका युवाले आवेदन माग गरे पनि आर्थिक वर्ष २०७५/७६ मा विभिन्न बैंकहरूले ३३ करोड रूपैयाँ मात्र ती युवाहरूलाई सहुलियत दिएको राष्ट्र बैंकले जनाएको छ। उद्यम गर्नलाई ऋण नै पाउन नसक्ने अवस्था सिर्जना भएपछि युवाले सरकारले झुक्याएको भन्दै विरोध गर्न थालेका छन्।

 'स्वदेशमा उद्यम गर्न चाहनेलाई सहुलियत ऋण दिने सूचना देखेपछि बोर्डमा निवेदन दिएका हौं,' बाखापालन गर्नका लागि १० लाख रूपैयाँ माग गरेका सर्लाही हरिवनमा सिजन प्रसाईले भने, 'निवेदन दिएको लामो समय बितिसक्दा ऋण पाउने कुनै छाँट छैन।'

सहुलियत ऋणका लागि बोर्डको पत्र बोकेर विभिन्न बैंक धाउँदा अधिकांश बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवालाई ऋण दिन आनाकानी गरिरहेको उनको भनाइ छ। बोर्डले वैदेशिक रोजगारीमा जाने युवाको संख्या कम होस् भन्ने उद्देश्यले युवालाई स्वदेशमै उद्यमी बनाउने पहल सुरु गरेको थियो । 

बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले वैदेशिक रोजगारीमा सिकेको सीप उपयोग होस् भन्नेसमेत उक्त कार्यक्रमको उद्देश्य रहेको बताए। श्रेष्ठले ठूलो संख्याका युवाले स्वदेशमै केही गर्न खोजेको बेला सहुलियत ऋणका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकका अधिकारीसँग सक्दो पहल गरेको बताएको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस