
काठमाडौं । बिग मर्जरको नीतिबाट पछाडि हटेको नेपाल राष्ट्र बैंक अहिले फोर्स मर्जरको बाटो खोज्न थालेको छ । क्रस होल्डिङको बाटो अपनाएर मर्जरमा जान बाध्य पार्न थालेको हो । राष्ट्र बैंकले गत साउन १५ गते एकै व्यक्ति वा समूहको लगानी भएका बैंकहरुको क्रस होल्डिङको विवरण एक साताभित्र पठाउन बैंकहरुलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकको त्यही निर्देशनका आधारमा क्रस होल्डिङको विवरण पठाएका थिए ।
पहिलोपटक क्रस होल्डिङ विवरणमा चित्त नबुझाएपछि राष्ट्र बैकले फेरि बैंकहरुलाई अर्को पत्र पठाएको छ । व्यक्तिगत रूपमा रहेको क्रस होल्डिङका विवरण आए पनि कम्पनीमार्फत गरिएको लगानीको विवरण नआएकाले दोस्रो पत्र पठाउन बाध्य भएको राष्ट बैंकको भनाइ छ । पहिलोपटक बैंकहरुले बुझाएको विवरणमा ज्यादै न्यून शेयर मात्र एक व्यक्तिको लगानी २ देखि ५ वटा बैंक तथा वित्तीय संस्थामा रहेको पाइएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।
राष्ट्र बैंकले क्रस होल्डिङको विवरण मागे पनि कति क्रस होल्डिङ भए मर्जर अनिवार्य हुने भन्ने विषयमा केही जनाएको छैन । व्यक्ति र कम्पनी दुवै विवरण आएपछि राष्ट्र बैंकले थप कार्य गृहकार्य गरेर अघि बढ्ने बताएको छ । फोर्स मर्जर गराउने उद्देश्यले राष्ट्र बैंकले सो विवरण मागेको हो । मर्जरका लागि बैंक तथा वित्तीय संस्थालाई नैतिक दबाब दिँंदै आएको राष्ट्र बैंकले बाध्यात्मक (फोर्स) मर्जरका बारे गृहकार्य शुरु गरेको हो ।
क्रस होल्डिङ (एउटै व्यक्तिको एकभन्दा बढी संस्थामा लगानी) भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लानका लागि वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाबाट शेयर स्वामित्व भएकाको विवरण संकलनको गृहकार्यमा केन्द्रीय बैंक जुटेको हो । राष्ट्र बैंकले एक बैंकमा लगानी भएको व्यक्तिको अर्को बैंकमा कति लगानी छ भन्ने पत्ता लगाउने र बढी शेयर स्वामित्व भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान बाध्य पार्न यस्तो गरेको हो ।
राष्ट्र बैंकले एकाघरका लगानीकर्ताको शेयर स्वामित्वको अंश हेरेको छ । कसको कत्ति शेयर दोहोरिन्छ, त्यही क्रस होल्डिङका आधारमा बैंकलाई मर्जरमा जान दबाब दिइने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।‘सबै बैंक तथा वित्तीय संस्थाको क्रस होल्डिङको विवरणलाई तालिका बनाएर हेर्छौं । बैंकहरूको क्रस होल्डिङको अवस्था १, २ वा ३ प्रतिशत कतिमा राख्दा हुन्छ त्यही आधारमा निर्णय गर्छौं,’ उनले भने ।
सम्पूर्ण बैंकको विवरण आएपछि एकाघरभित्र निश्चित परिमाणभन्दा बढीको क्रस होल्डिङ भएकाहरुलाई मर्जरमा जानैपर्ने निर्देशन दिनका लागि राष्ट्र बैंकले निर्देशिका बनाउने र त्यही आधारमा फोर्स मर्जरमा लैजाने तयारी गरेको छ । मर्जरका लागि दिएको सहुलियत उपयोग गर्दै बैंकहरु मर्जरमा गएनन् भने बाध्यात्मक मर्जरमा लैजाने राष्ट्र बैंकको योजना छ ।
मर्जरलाई प्रोत्साहन दिँदा बैंकहरु स्वेच्छिक रुपमा जान अटेर गरे भने दबाब दिएर मर्जरमा लैजाने तयारी स्वरुप राष्ट्र बैंकले यस्तो गर्न थालेको हो । ‘हामी मर्जरको नीतिबाट पछाडि हटेका छैनौं । भोलिका दिनमा फोर्स मर्जर हुनसक्छ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने ।
प्रतिक्रिया दिनुहोस