aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बैंकिङ कसुरका दोषी रोशन भण्डारी भण्डारी टोलबाट पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ असोज २०७९
बैंकिङ कसुरका दोषी रोशन भण्डारी भण्डारी टोलबाट पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका र लागुऔषध मुद्दाका आरोपी दुई जनालाई आज फरकफरक स्थानबाट प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–११ गोंगबु बस्ने ३४ वर्षीय रोशन भण्डारीलाई आज प्रहरीले भण्डारी टोलबाट पक्राउ गरेको छ । 

उनी उच्च अदालत पाटनको गत असार १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा चार दिन कैद र रु पाँच लाख ५० हजार जरिवाना तथा २२ हजार क्षतिपूर्ति भराउने आदेश भई फरार रहेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरी आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाएको प्रहरीले जनाएको छ । 

यस्तै काठमाडौँ, चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट अवैध लागुऔषध हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम पाँच मिलिग्रामसहित कीर्तिपुर नगरपालिका–५ घर भएका ३१ वर्षीय इज्जित नापितलाई आज प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चितवनबाट काठमाडौँ आउँदै गरेको ना ४५ प ९४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार नापितले चुरोटको बट्टाभित्र लुकाइ ल्याएको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । नापितले नागढुङ्गाको सुरक्षा चौकी छल्नका लागि चन्द्रागिरि नगरपालिका–२ चिसापानी नजिकबाट उक्त मोटरसाइकलमा लिफ्ट मागी सवार रहेको खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस