
काठमाडौं । आगामी कात्तिक महिनामा निक्षेपको ब्याजदर नबढ्ने भएको छ । नेपाल बैंकर्स संघको बिहीबार बसेको अनौपचारिक बैठकमा बैंकहरुले ब्याजदर नबढाउने बताएका हुन् ।
ब्याजदरबारे जानकारी दिँदै बैंकर्स संघका एक सदस्यले भने, ‘आगामी कात्तिक महिनामा निक्षेपको ब्याजदर बढ्दैन । सबै बैंकहरु ब्याजदर वृद्धि नगर्ने पक्षमा रहेका छन् । यसले गर्दा असोज महिनाकै ब्याजदर कात्तिक महिनामा कायम रहने देखिन्छ ।’
गत भदौ महिनासम्म भद्र सहमति कायम गर्दै सबै बैंकमा एउटै ब्याजदर कायम गरिएकोमा असोज महिनामा भने बैंकहरुले निक्षेपको ब्याजदर बढाएर प्रकाशित गरेका थिए । हुनत ब्याजदर वृद्धि गरे पनि बैंकहरुमा पैसा भने आएको देखिदैन ।
‘असोज महिनामा पनि ब्याजदर वृद्धि गर्ने पक्षमा म चाहिँ थिइन । बैंकहरु ब्याजदर वृद्धि गरे । तर, ब्याजदर बढाए पनि बैंकहरुमा पैसा भने आएन ।’, संघका एक सदस्यले भने ।
असोज महिनामा निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दतीतर्फ ११.०३ प्रतिशतबाट बढाएर १२.१३ प्रतिशत पुर्याइएको थियो । रेमिट्यान्स मुद्दती तर्फ १३.१३ प्रतिशत न्यूनतम ब्याजदर कायम रहेको छ । त्यस्तै, अहिले साधारण बचतको ब्याजदर ७.१३ प्रतिशतसम्म छ भने संस्थागत मुद्दती निक्षेपको ब्याजदर १०.१३ प्रतिशत कायम छ ।
असोज महिनामा बैंकहरुले ब्याजदर वृद्धि गरे पनि बैंकहरुमा पैसा भने आएको देखिँदैन । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको पछिल्लो एक साताको तथ्यांकमा बैंकहरुमा निक्षेप घटेको देखिन्छ । असोज १४ गतेदेखि असोज २१ गतेसम्मको अवधिमा ८ अर्ब रुपैयाँले वाणिज्य बैंकहरुमा निक्षेप घटेको हो ।
संघको तथ्यांक अनुसार असोज १४ गतेसम्म वाणिज्य बैंकहरुमा ४४ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप घटेर असोज २१ गतेसम्म आइपुग्दा ४५ खर्ब ११ अर्ब रुपैयाँमा सीमित बनेको संघको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस