
काठमाडौँ । अहिले सहकारीहरूको पनि मर्जर लहर चलेको छ । वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्या सहकारी क्षेत्रमा समेत पर्न थालेपछि सहकारीहरू धमाधम मर्जरमा जान थालेका हुन् ।
पछिल्लो समय बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीमा देखिएको मर्जर सहकारीमा समेत प्रवेश गर्नुलाई सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गरी संस्थालाई मजबुत बनाउने प्रयासको रुपमा हेरिएको छ । यहि उद्देश्यका साथ सहकारीहरूले मर्जर सम्झौता गर्न थालेको सहकारी विज्ञहरु बताउँछन् ।
प्राप्त तथ्याङ्क अनुसार हालसम्म उपत्यका र उपत्यका बाहिरका ३६ सहकारीले मर्जरको सम्झौता गरेका छन् । भदौ ११ गते शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच पाँच वटा सहकारी संस्थाहरूले मर्जरको सुरुवात गरेका थिए ।त्यसैको निरन्तरताको रुपमा हालको लहरलाई हेरिएको छ। पहिलो मर्जर लगत्तै भदौ १७ गते नौ वटा र भदौ १८ गते थप ११ सहकारीले एकीकरणको सम्झौता गरेका थिए ।
त्यस्तै, भदौ २४ गते तीन, असोज १ गते चार र असोज ६ गते २ र असोज ९ गते २ वटा सहकारीले एकीकरणको सम्झौता गरेसँगै मर्जरको सम्झौता गर्ने सहकारीको सङ्ख्या ३६ पुगेको छ । यसरी एकीकरणको सम्झौता गरेका सहकारीको शेयर पुँजी एक अर्ब ८९ करोड ५३ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।
कुन कुन सहकारीले गरे मर्जरको सम्झौता ?
भदौ ११ गते शनिवार काठमाडौँमा सञ्चालित आइडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, नेशनल नमो बुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुउद्देश्यीय सहकारी संस्थाबिच मर्जरको सम्झौता भयो । मर्जरपछि संस्थाको नाम नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था हुनेछ । सो संस्थाको कुल सेयर पुँजी ३० करोड ८१ लाख २२ हजार रुपैयाँ पुग्नेछ ।
त्यसपछि यो संस्थाको जगेडा कोषमा १४ करोड ६६ लाख, कर्जा जोखिम कोष १२ करोड ४२ लाख ३५ हजार, कुल संस्थागत पुँजी १६ करोड ९४ लाख २९ हजार, अन्य कोषहरू २ करोड २७ लाख ३९ हजार, कुल बचत ५ अर्ब ६३ करोड ७० लाख रुपैयाँ रहनेछ । त्यस्तै, लगानीमा रहेको ऋण ४ अर्ब २७ करोड ४५ लाख, वित्तीय लगानी ४ करोड २७ लाख २९ हजार, तरलता रकम १ अर्ब ३८ करोड ४८ लाख रहनेछ भने ऋणी सदस्यहरूको सख्या ६ हजार ८ सय ५८ जना हुनेछ । मर्जरपछि संस्थाको कुल सम्पत्ति ७ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ भने ३० हजार २० जना शेयर सदस्यहरू रहनेछन् ।
त्यस्तै, भदौ १७ गते शुक्रबार कुलेश्वरको शुभ लाभ बचत तथा ऋण सहकारी संस्था, न्यूरोडको जीवन दीप साकोस, कोटेश्वरको सदस्य सेवा साकोस, भोटाहिटीको शुभरत्न साकोस, चाबहिलको एभरट्रष्ट साकोस, चाबहिलको सर्वोच्च सम्वृद्धि साकोस, न्यूरोडको अष्ट साकोस, न्यूरोडको हाम्रो सेवा बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जिल्लाको कुमारीपाटी स्थित गंगाजल बहुउद्देश्यीय सहकारी संस्थाले एकीकरणको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
एकीकरणपछि संस्थाको नाम शुभ सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहनेछ । मर्जरपछि बन्ने संस्थाको शेयर पुँजी २७ करोड २९ लाख ६४ हजार रुपैयाँ, निक्षेप ४ अर्ब ८९ करोड ६४ लाख ६९ हजार रुपैयाँ, कर्जा लगानी ५ अर्ब ३० करोड २७ लाख ७२ हजार रुपैयाँ र कूल कारोबार ६ अर्ब ४९ करोड ३९ लाख ६१ हजार रुपैयाँ हुनेछ ।
यसैगरी ६१ हजार ७ सय ४९ जना शेयर सदस्य आबद्ध हुने नयाँ संस्थाको कर्जा जोखिम कोषमा ११ करोड ९१ लाख ९९ हजार रुपैयाँ, जगेडा कोषमा ९ करोड ८४ लाख ६० हजार रुपैयाँ हुनेछ ।
त्यसैगरी, भदौ १८ गते शनिवार काठमाडौँका ११ वटा सहकारी संस्थाहरूले मर्जरको सम्झौता गरेका छन् । एकीकरण सम्झौता गर्ने सहकारीहरूमा काठमाडौँको न्यु रोड स्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बालाजुको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, बागबजारको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था, चाबहिलको लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
त्यस्तै, तारकेश्वरको योजना बहुउद्देश्यीय सहकारी संस्था, कलङ्कीको उषा किरण बचत तथा ऋण सहकारी संस्था, हात्तीसारको माउन्ट अपि बचत तथा ऋण सहकारी संस्था, नयाँबानेश्वरको सूर्यदेव बचत तथा ऋण सहकारी संस्था, न्युरोडको हनुमान ढोका बहुउद्देश्यीय सहकारी संस्था, न्यु रोड कै दुर्गामाश्रिता बचत तथा ऋण सहकारी संस्था र पिपुल श्रोता बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।
एकीकरणपछि संस्थाको नाम राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था रहनेछ । एकीकरणपछि संस्थाको सदस्य संख्या ४१ हजार हुनेछन् भने कुल कर्मचारी सङ्ख्या ५१० जना पुग्नेछ । संस्थाको सेयर पुँजी ५५ करोड ५ लाख, बचत निक्षेप ५ अर्ब ६५ करोड, ऋण लगानी ५ अर्ब ७५ करोड, कुल कोष ३१ करोड ५ लाख र कुल सम्पत्ति तथा दायित्व ७ अर्ब ७५ करोड हुनेछ ।
भदौ २४ गते, उपत्यकाका विभिन्न स्थानमा सञ्चालित तीन ठुला सहकारी संस्थाहरूले एकीकरण सम्झौता गरेका छन् । काठमाडौँको खुसिबु स्थित लालिगुँरास बचत तथा ऋण सहकारी संस्था, कालीमाटी स्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र ललितपुर जावलाखेलस्थित कल्याण उपकार सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ बीच शुक्रबार एक कार्यक्रमका बीच एकीकरण सम्झौता भएको हो ।
यो एकीकरण पुँजीको हिसाबले काठमाडौँ जिल्लामा भएको सबैभन्दा ठुलो सहकारी एकीकरण हो । एकीकृत संस्थाको नाम लक्ष्मी कल्याण गुराँस सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ हुने भएको छ ।
एकीकरणपछि संस्थाको शेयर सदस्य संख्या ११ हजार ४ सय ५९ पुग्नेछ भने शेयर पुँजी ३१ करोड ७ लाख ७२ हजार २ सय ४० रुपैयाँ कायम हुनेछ । त्यस्तै संस्थाको जगेडा कोषमा १३ करोड, १७ लाख ९६ हजार ४ सय ६५ रुपैयाँ, अन्य कोषहरूमा ३ करोड ८२ लाख ८१ हजार ५ सय ३५ रुपैयाँ र संस्थागत पुँजी २५ करोड ४९ लाख ५० हजार ३ सय ७४ रुपैयाँ हुने जानकारी आज आयोजित कार्यक्रममा गराइएको थियो ।
त्यस्तै कुल बचत रकम ८ अर्ब ३३ करोड ७५ लाख ९६ हजार ४ सय ५ रुपैयाँ र ऋण लगानी ७ अर्ब २७ करोड ९४ लाख ८२ हजार ४१ रुपैयाँ रहनेछ । त्यस्तै, असोज १ गते, काठमाडौँ र ललितपुरका चार वटा सहकारीले एकीकरण सम्झौता गरेका छन् । काठमाडौँमा रहेको अर्थ वृद्धि बहुउद्देश्यीय सहकारी, जीवनदृष्टि बहुउद्देश्यीय सहकारी, जीवनदृष्टि बचत तथा ऋण सहकारी र ललितपुरको गोल्डेन रोज बहुउद्देश्यीय सहकारीले एकीकरण सम्बन्धी सम्झौता गरेका हुन् ।
एकीकृतपछि संस्थाको नाम अर्थ जीवन दृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहनेछ । एकीकरणपछि संस्थाको शेयर पुँजी १५ करोड ३० लाख, निक्षेप १ अर्ब ७७ करोड, कूल कारोबार २ अर्ब ५ करोड, कर्जा लगानी १ अर्ब ६६ करोड तरलता १३ दशमलव ५ प्रतिशत रहने जनाइएको छ ।
त्यस्तै, असोज ६ गते ललितपुर महानगरपालिकाका दुई सहकारी बीच मर्जरेका एकीकरण भएको छ । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र स्थित स्टार बचत तथा ऋण सहकारी संस्थाबिच एकीकरण गर्ने प्रारम्भिक सम्झौता भएको हो ।
यससँगै उपत्यका बाहिर काभ्रेका दुई सहकारीबिच पनि एकीकरणको सम्झौता भएको छ । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि र बिन्धबासीनी बचत तथा ऋण सहकारी संस्थाबिच एकीकरण गर्ने प्रस्ताव पारित भएको हो ।
प्रतिक्रिया दिनुहोस