
काठमाडौं । चालू आर्थिक वर्षको तीन महिना सकिसक्दा सूचीकृत कम्पनीहरूको लाभांश सार्वजनिक हुने क्रम जारी छ । यतिबेला लगानीकर्ताहरूले लाभांशका लागि कम्पनीहरूले तय गरेको बुक क्लोजको मितिलाई ध्यान दिन आवश्यक देखिन्छ ।
एक साता लामो सार्वजनिक विदा सकिएसँगै कम्पनीहरूको लाभांश सुरक्षित गर्ने मिति नजिकिएको छ । सार्वजनिक विदा सकिए लगतै कुमारी बैंकको लाभांश सुरक्षित गर्ने मिति नजिकिने छ । हुनत यतिबेला कुमारी बैंकको शेयर कारोबार धितोपत्र दोस्रो बजारमा रोक्का रहेको छ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर प्रयोजनका बैंकको शेयर कारोबार असोज ११ गतेदेखि नै रोक्का रहेको छ ।
बैंकले यस वर्षका लागि प्रस्ताव गरेको लाभांश सहितका विविध प्रस्ताव पारितका लागि कात्तिक २१ गते २२औं वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकको असोज ३० गतेको सञ्चालक समितिको बैठकले बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्ग्याउनेछ । सभाले प्रस्तावित कर समेतको १२ दशमलव ५० प्रतिशत नगद लाभांशलाई समेत स्वीकृत गर्नेछ । हाल बैंकको चुक्तापूँजी रू. १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रहेको छ । सोही पूँजीको आधारमा बैंकले यस वर्ष नगद लाभांश मात्र वितरण गर्न लागेको हो ।
सभा प्रयोजनका लागि बैंकले कात्तिक १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । असोज १० गतेसम्म कारोबार भई नियमानुसार शेयर रजिष्ट्रारको कार्यालयमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा कात्तिक १४ गतेसम्म शेयरधनी दर्ता कितावमा कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस