
काठमाडौं । काठमाडौं महानगरपालिकामा सञ्चालनमा रहेका पाँच वटा सहकारी विरुद्ध ४ करोड ठगी गरेको आरोप लागेको छ । महानगरपालिका भित्र सञ्चालनमा रहेको सहकारी विभागमा पाँच वटा सहकारी विरुद्ध ठगीको उजुरी परेको हो । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा विभागमा सहकारीहरुले ठगी गरेको भन्दै उजुरी दिएका छन् ।
उजुरी परेका सहकारीहरुमा जय हनुमान बचत तथा ऋण सहकारी संस्था, सुख समृद्धि बचत तथा ऋण सहकारी, डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था, आरक्ष बचत तथा ऋण सहकारी र नवसंकल्प बचत तथा ऋण सहकारी रहेका छन् । यी सहकारी विरुद्ध ४ करोड ५ लाख ९१ हजार ६३३ रुपैयाँ मागदावी सहित ६३३ जना बचतकर्ताले विभागमा उजुरी दिएका छन् ।
विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनामा एक करोडभन्दा बढिको मागदावी सहित दुई वटा सहकारी विरुद्ध उजुरी परेको थियो । एक करोड ३८ लाख ८७ हजार ९४४ रुपैयाँको मागदावीसहित जय हनुमान बचत तथा ऋण सहकारी संस्था र सुख समृद्धि बचत तथा ऋण सहकारी संस्था विरुद्ध उजुरी परेको छ । यी सहकारीविरुद्ध ४३ बचतकर्ताले विभागमा उजुरी दिएका हुन् ।
त्यस्तै, गत भदौ महिनामा दुईवटा सहकारी विरुद्ध बचतकर्ताहरुले ठगी गरेको भन्दै उजुरी दिएका थिए । डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था र आरक्ष बचत तथा ऋण सहकारीमा बचतका लागि राखेकाे आफ्नो पैसा फिर्ता नदिएको भन्दै बचतकर्ताहरुले उजुरी दिएका थिए ।
विभाग अनुसार यी दुई सहकारीले २ करोड ४९ लाख ५४ हजार ९४५ रुपैयाँ ठगी गरेको आरोप छ । जसमा डेभलपमेन्ट सहकारीले १ करोड ४५ लाख रुपैयाँ ठगी गरेको बचतकर्ताको आरोप छ । त्यस्तै, आरक्ष सहकारीले १ करोड ४ लाख ५४ हजार ९४५ रुपैयाँ ठगी गरेको आरोप छ ।
डेभलपमेन्ट सहकारीको उक्त रकम एक जना बचतकर्ताको मात्रै रहेको छ । उता आरक्ष सहकारीको भने उक्त रकम ५६३ जना बचतकर्ताको रहेको विभागले जनाएको छ ।
विभागका अनुसार गत असोज महिनामा नवसंकल्प बचत तथा ऋण सहकारी संस्था विरुद्ध ठगीको उजुरी परेको छ । उक्त सहकारी रकम हिनामिना गरेको भन्दै १७ लाख ४८ हजार ७४४ रुपौयँ बराबरको मागदावी सहित ६७ जनाको उजुरी परेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस