
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बैंकको प्रस्तावित ३ दशमलव ३६६३ प्रतिशत बोनस शेयर प्रयोजनका लागि शेयरमूल्य समायोजन गरेको हो ।
कुमारी बैंकसँगैका मर्जरका कारण असोज ११ गतेदेखि शेयर कारोबार रोक्का रहेको यस बैंकको असोज ९ गतेसम्म कायम अन्तिम शेयरमूल्य रू. १८४ को आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य नेप्सेले रू. १७८ दशमलव शून्य १ तोकेको छ ।
बैंकले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि मंसिर २ गते २५औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान १० बजे सभा गर्ने तयारी गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष वितरणको लागि प्रस्ताव गरेको ११ प्रतिशत लाभांशलाई समेत सभाले वितरणयोग्य बनाउनेछ ।
बैंकले हाल कायम चु्क्तापूँजी रू. ११ अर्ब १३ करोड ९६ लाख ७८ हजारको आधारमा ३ दशमलव ३६६३ प्रतिशत बोनस शेयर र कर समेत ७ दशमलव ६३३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभाका लागि तय गरेको छ ।
बोनस शेयर वितरणपछि बैंकको पूँजीबृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको विषय पनि सभाले पारित गर्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि बैंकले कात्तिक १५ गते एक दिन बुक क्लोज गरेको छ ।
प्रतिक्रिया दिनुहोस