काठमाडौं। संकटग्रस्त बन्दै गएको नेपालको अर्थतन्त्र चालु खर्च नै धान्न नसक्ने अवस्थामा पुगेको देखिंदैछ । चालु आर्थिक वर्षको साढे ३ महिनामा सरकारले उठाएको आन्तरिक ऋणले यस्तो सङ्केत गरेको हो ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मध्यसम्मको अवधिमा आन्तरिक ऋण उठाउन एक खर्ब ९० अर्ब रुपैयाँ भन्दा बढीको ट्रेजरी बिल जारी गरेको छ । यस अवधिमा राष्ट्र बैंकले १ खर्ब ९० अर्ब १ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा राष्ट्र बैंकले १ खर्ब ३२ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । हालसम्म जारी गरिएको ट्रेजरी बिल गत आवको तुलनामा ४३.१८ प्रतिशतले बढी हो ।
के हो ट्रेजरी बिल ?
ट्रेजरी बिल एक वर्ष वा एक बर्षभन्दाकम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।
निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो ऋणपत्र बिल बिक्री गरिन्छ ।
बोल–कबोलमा बहु–बोल मूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोल–कबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सक्छन् । ट्रेजरी बिलमा ब्याजदरको सट्टामा डिस्काउन्ट दर लागू गरिन्छ । डिस्काउन्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।
ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ । ट्रेजरी बिललाई प्रमिशरी नोट सरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक–आपसमा दरपिठ गरी खरिद बिक्री गर्न सकिन्छ ।
ऋणपत्रको बोलकबोल सहभागी हुने क, ख र ग वर्गका बैङ्क, अन्य वित्तीय संस्था, गैर बैङ्क तथा वित्तीय संस्थालगायत मध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैङ्कले ट्रेजरी बिल जारी गर्ने गर्छ ।
चालु आवको ट्रेजरी विवरण
राष्ट्र बैंकले साउन २ गते जारी गरेको २८ दिन र ९१ दिन अवधिको १० अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल अहिले परिपक्व भइसकेको छ । त्यसैगरी साउन ९ गते जारी गरेको २८ दिन र ९१ दिन अवधिको १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी पनि परिपक्व भइसकेको छ ।
त्यस्तै, साउन १६ गते ९१ दिन र १८२ दिन अवधिको १० अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो । ९१ दिन अवधिका लागि जारी गरेको ५ अर्ब १० करोड रुपैयाँ बराबरको जारी ट्रेजरी कात्तिक १५ मा परिपक्व भएको छ भने १८२ दिन अवधिको ट्रेजरी माघ १७ गते परिपक्व हुनेछ ।
साउन महिनाको २३ गते जारी गरेको ९१ दिन अवधिको ७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी कात्तिक २२ गते परिपक्व हुँदै छ। साउन ३० गते २८ दिन, ९१ दिन र १८२ दिन अवधिको १३ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गरेको थियो । जसमध्ये २८ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी भदौ २८ गते परिपक्व भएको छ । ९१ दिन अवधिको ट्रेजरी कात्तिक २९ गते र १८२ दिन अवधिको ट्रेजरी फागुन २ गते परिपक्व हुनेछ ।
राष्ट्र बैंकले भदौ महिनामा मात्रै ३१ अर्ब ८७ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको छ । भदौ ६ गते बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको १२ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । जसमध्ये १८ दिन अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी असोज ४ गते परिपक्व भइसेकेको छ । भने ९१ दिन अवधिको २ अर्ब २३ करोड रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ ट्रेजरीे परिपक्व हुन बाँकी रहेको छ ।
त्यसैगरी राष्ट्र बैंकले भदौ ९ गते २५ अर्ब रुपैयाँ बराबरको नेपाल सरकारको ट्रेजरी बिल सोझै बोलकबोल गरेको थियो । त्यस्तै, बैंकले भदौ १३ गते ९१ दिन अवधिको ३ अर्ब १३ करोड रुपैयाँ, भदौ २० गते ९१ दिन र ३६४ दिन अवधिको ६ अर्ब २६ करोड रुपैयाँ र भदौ २७ गते २८ दिन र ९१ दिन अवधिको गरी १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । जसमध्ये २८ दिन अवधिको ५ अर्ब रुपैयाँको ट्रेजरी असोज २५ गते परिपक्व भइसकेको छ ।
चालु आवको असोजमा राष्ट्र बैंकले ७९ अर्ब ८८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको छ । असोज २ गते राष्ट्र बैंकले २८ दिन ९१ दिन र १८२ दिन अवधिको ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । जसमध्ये २८ दिन अवधिको २ अर्बको ट्रेजरी बिल कात्तिक १ गते परिपक्व भइसकेको छ ।
त्यसैगरी, राष्ट्र बैंकले असोज ६ गते ४० अर्ब रुपैयाँको नेपाल सरकारको ट्रेजरी बिल सोझै बोलकबोल गरेको थियो । राष्ट्र बैंकले असोज ९ गते ९१ दिन र १८२ दिन अवधिको १२ अर्ब १० करोड रुपैयाँ, असोज १३ गते ९१ दिन र १८२ लिन अवधिको १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बलि बिक्री गरेको थियो ।
त्यस्तै, असोज २४ गते राष्ट्र बैंकले २८ दिन ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । असोज ३१ गते ९१ र ३६४ दिन अवधिको १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गरेको थियो ।
राष्ट्र बैंकले कात्तिक महिनामा मात्रै दुई पटक गरेर २२ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको छ । कात्तिक ६ गते ९१ दिन र ३६४ दिन अवधिको ५ अर्ब ६० करोड रुपैयाँ र कात्तिक १४ गते ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको हो ।
प्रतिक्रिया दिनुहोस