aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एनआईसी एशियाको सीईओमा न्यौपाने पुनःनियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ कार्तिक २०७९
एनआईसी एशियाको सीईओमा न्यौपाने पुनःनियुक्त

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने पुनः नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले न्यौपानेलाई बैंकको सीइओमा पुनःनियुक्त गरेको हो । 

हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका न्यौपानेलाई मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको अवधिको लागि पुर्ननियुक्त गर्ने निर्णय गरेको हो । 

सन् २००८ अप्रिलदेखि तत्कालिन बैैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिको २०७५ मंसिर १६ को ३७९ औं बैंठकले उनलाई मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ को रुपमा समेत चर्चित भए 

रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बुढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकिङ्ग क्षेत्रमा उदयमान भएका थिए ।  

प्रतिक्रिया दिनुहोस