काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रिलायन्स फाइनान्स लिमिटेड रू. ४ करोड २५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्षको यसै अवधिसम्म रू. २ करोड १९ लाखभन्दा बढी खुद नाफामा रहेको कम्पनी यस वर्षभने खुद नोक्सानीमा गएको हो । यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज ५२३ प्रतिशत बढ्दा सञ्चालन नोक्सानी हुन गई खुद नोक्सानीमा गएको हो ।
गत वर्ष रू. ५६ लाख ४५ हजार रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष रू. ३ करोड ५१ लाखभन्दा बढी रहेको छ । जसको असर गत वर्ष रू. ३ करोड १३ लाखभन्दा बढी सञ्चालन नाफामा रहेको कम्पनी यस वर्ष रू. ४ करोड २५ लाखभन्दा बढी सञ्चालन नोक्सानीमा गएको हो । कम्पनीको पहिलो त्रैमाससम्म वितरणयोग्य नाफा रू. ६ करोड ९९ लाखभन्दा बढी ऋणात्मक देखिएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५ करोड ३० लाख ६ हजार रहेको छ । गत असार मसान्तसम्मको तुलनामा कम्पनीको रिटेन्ड अर्निग करिब ४१ प्रतिशत कम रू. २ करोड ५३ लाखभन्दा बढी छ । कम्पनीको जगेडा कोष भने असार मसान्तसम्मको तुलनामा करिब १७ प्रतिशत घटेर रू. १८ करोड ४५ लाखभन्दा बढी कायम भएको छ ।
यो तीन महिनामा कम्पनीले रू. ६ अर्ब ५६ करोड ५१ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ५ अर्ब ३२ करोड ५७ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत त्रैमाससम्मको तुलनामा कम्पनीको निक्षेप संकलन साढे १ प्रतिशत घटेको हो भने कर्जा प्रवाह करिब ३ प्रतिशत बढेको हो ।
गत वर्ष ४ दशमलव ५६ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर ३ दशमलव ६७ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२० दशमलव शून्य ४ रहेको छ भने पहिलो त्रैमाससम्म ४३ दशमलव १४ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस