
काठमाडौं । विदेशमा रहेका श्रमिकले साधारण शेयर आईपीओ भर्नका लागि कम्तीमा ५० हजार रुपैयाँ बैंक खातामा जम्मा गरेको हुनु पर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौं संशोधन) निर्देशिका, २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
निर्देशिकामा भनिएको छ, ‘आवेदन गर्न विप्रषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो छ महिनामा कम्तीमा पचास हजार नेपाली रुपैयाँ सम्बन्धीत व्यक्तिले आफू रोजगारी रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्नेछ ।’
त्यस्तै, निर्देशिकामा विदेशमा बसी रोजगार गरेका नेपालीहरुलाई शेयर निष्काशन अन्तर्गत ससंगठित संस्थाले सर्वसाधरणालाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्नु अगावै सार्वजनिक निष्काशन गरिने शेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धीत निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि छुट्याउनु पर्ने उल्लेख गरिएको छ ।
बोर्डले गत भदौमै संशोधन गरेको उक्त निर्देशिका कात्तिक १७ गतेदेखि लागू गर्ने निर्णय गरेको हो । उक्त निर्देशिका लागू भएसँगै अब बैदेशिक रोजगारीमा गएका नेपालीहरूले आईपीओमा १० प्रतिशत आरक्षण पाउने निश्चित भएको छ ।
सरकारले यस वर्षको बजेटमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्कासनमा दश प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्था कार्यान्वयनका लागि बोर्डले निर्देशिका संशोधन गरेको हो ।
वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले निष्कासित शेयरमा आवेदन दिँदा बोर्डबाट धितोपत्र दरी दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको रेमिट्यान्स बचत खतामार्फत मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । निष्काशित शेयरमा आवेदन दिँदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा रहेके विप्रषण (रेमिट्यान्स) बचत खाता मार्फत भुक्तानी गर्नु पर्नेछ ।
वैदेशिक रोजगारीमा गएका नेपालीलाई छुट्याएको शेयर विक्री नभई बाँकी रहन गएमा उक्त शेयर सर्वसाधारणमा थप गरी जारी गर्नुपर्ने व्यवस्था समेत संशोधित नियमावलीमा गरिएको छ । यो व्यवस्था अंकित मूल्यमा थप सार्वजनिक निष्कासन गर्ने संगठित संस्थाको हकमा लागू नहुने बोर्डको भनाई छ ।
सर्वसाधारणतर्फको वाहेक अन्य समूहको शेयर बाँडफाँट भएको मितिले तीन वर्षको अवधि पुरा नभई विक्री गर्न नपाईने व्यवस्था समेत संशोधित निर्देशिकामा गरिएको छ । तर प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल, हेज फण्ड वा यस्तै प्रकारको कोषको रुपमा बोर्डमा वा विदेशमा दर्ता भएको कोषको स्वामित्मा रहेको शेयर भने बाँडफाँट भएको मितिले एक वर्षको अवधि पुरा भएपश्चात विक्री गर्न सकिने व्यवस्था समेत नयाँ व्यवस्थामा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस