
काठमाडौं । कुमारी बैंक लिमिटेडले पारित भएको दिनदेखिनै नगद लाभांश वितरण गर्न सुरु गरेको छ । बैंकले असोज २१ गते २२औं वार्षिक साधारण सभा सम्पन्न गरी कर समेत १२ दशमलव ५० प्रतिशत नगद लाभांश पारित गरेको थियो । बैंकले हाल कायम चुक्तापूँजी रू. १४ अर्ब ७१ करोड ११ लाख ८३ हजारको आधारमा यस वर्ष नगद लाभांश मात्र वितरण गरेको हो ।
लाभांश र साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक १४ गते एक दिन बुक क्लोज गरेको थियो । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर प्रकृयामा रहेको यस बैंकले शेयर कारोबार भने मर्जर प्रयोजनका लागि असोज ११ गतेदेखिनै रोक्का रहेको छ ।
बुक क्लोजको आधारमा असोज १० गतेसम्म कारोबार भई नियमानुसार शेयर रजिष्ट्रारको कार्यालयमा प्राप्त शेयर नामसारीको लिखतको आधारमा कात्तिक १४ गतेसम्म शेयरधनी दर्ता कितावमा कायम शेयरधनीहरूलाई लाभांश वितरण गरिएको बैंकले जानकारी दिएको छ ।
नगद लाभांश कर कट्टा गरी सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गरिएको बैंकको भनाई छ । कात्तिक १४ गतेसम्म धितो बन्धक राखी कर्जा सुविधा उपयोग गरेको सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपछि मात्र नगद लाभांश बैंक खातामै जम्मा गरिने जानकारी समेत बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस