काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले केही सहकारीको नियतका कारण राम्रा सहकारीमा पनि समस्या देखिएको बताएका छन् । शुक्रबार महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा धुलिखेलमा भएको सञ्चारकर्मीको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले कार्यक्रममा बोल्दै भने, ‘केही सहकारीको नियतका कारण राम्रो व्यवस्थापन भएका सहकारीमा पनि समस्या देखियो । अब विस्तारै ती समस्याहरु न्यूनीकरण हुँदै गएका छन् ।’
त्यस्तै, उनले सहकारी क्षेत्रमा देखिएका समस्या विस्तारै कम हुँदै गएको जिकिर गरे । अध्यक्ष कँडेलले भने पछिल्लो समय सहकारीमा तरलताको समस्याका कारण केही संकट देखिएको हो । अब ती समस्या कम हुँदै गएका हुन् कि भन्ने हाम्रो बुझाइ छ ।’
केही समय अगाडि सहकारी क्षेत्रमा धेरै समस्या देखिएको भएपनि ती समस्या विस्तारै कम हुँदै गएको उनले दोहोर्याए । उनले सहकारी क्षेत्रका समस्या समाधानका लागि राष्ट्रिय सहकारी महासंघ लागि परेको पनि बताए । यसका साथै बैंक तथा वित्तीय क्षेत्र जस्तै सहकारी क्षेत्रमा पनि तरलताको संकट भने यथावत रहेको उनको भनाइ छ ।
राष्ट्रिय सहकारी महासंघ १० वर्षे नीतिहरु अगाडि सारेर काम गरिरहेको बताउँदै उनले सिंगो सहकारी क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्न जरुरी रहेको बताए । उनले सहकारी संस्थाहरु पनि अहिले वित्तीय विवरण सार्वजनिक गर्नमा ध्यान दिएको बताउँदै अब विस्तारै सहकारी संस्थाहरुको वास्तविक अवस्था थाहा पाउन सहयोग पुग्ने बताए ।
यस्तै, कार्यक्रममा नेपाल सहकारी समाजका अध्यक्ष काजी श्रेष्ठले पछिल्लो समय सहकारी क्षेत्रका विषयवस्तुले प्राथमिकता पाउँदै गएको बताउँदै अझै यो गतिलाई बढाउँदै लैजानु पर्ने धारणा राखेका छन् । उनले पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न क्षमता अभिवृद्धिमुलक कार्यक्रमको आवश्यक पर्ने बताउँदै यस विषयमा सहकारी क्षेत्रमा काम गर्ने निकायले ध्यान दिन जरुरी रहेको बताए ।
कार्यक्रममा नेपाल सहकारी पत्रकार समाजका पूर्व अध्यक्ष डिल्ली प्रसाद सापकोटाले प्रस्तुति दिँदै सहकारी क्षेत्रको वर्तमान विषयवस्तुको विषयमा प्रकाश पारे । उनले पनि सहकारी अभियानकर्मी र सञ्चार क्षेत्रबीच ऐजेण्डाहरुबीच घनिभूत रुपमा संवाद हुन नसकेको बताउँदै यस विषयमा प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने उनको राय छ ।
‘नेपाल सहकारी समाज स्थापनापछि सहकारी क्षेत्रका विषयवस्तुले प्राथमिकता पाएको देखिन्छ । अझैँ पनि सहकारी क्षेत्र र सञ्चार क्षेत्रबीच दोहोरो सञ्चार हुन सकेको छैन । सहकारी अभियानकर्मी र सञ्चार क्षेत्रबीच ऐजेण्डाहरुबीच घनिभूत रुपमा संवाद हुन सकेको छैन । यस विषयमा अभियानकर्मीले ध्यान दिन जुरुरी छ,’ उनले भने । त्यस्तै, उनले सहकारी संस्थाको नियमनमा समस्या हुँदा मर्जरको नाममा सदस्यलाई सास्ती भएको समेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस