
काठमाडौं । बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले मंसिर २३ गते मर्जर र लाभांश प्रस्तावलाई स्वीकृति प्रदान गर्ने भएका छन् । दुबै बैंकले एकै दिन वार्षिक साधारण सभा आव्हान गरेका हुन् ।
बैंक अफ काठमाण्डूले २८ औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौंमा बिहान १० बजे बोलाएको छ । सभाले ग्लोबल आइएमई बैंकसँगको मर्जर प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ भने प्रस्तावित ६ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि समेत १४ दशमलव ९५ प्रतिशतका नगद लाभांशलाई समेत पारित गर्नेछ । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्ष ०७८/७९ का लागि हाल कायम चुक्तापूँजी रू. १० अर्ब ६२ करोड ३९ लाख ९४ हजारको आधारमा कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।
त्यस्तै ग्लोबल आइएमई बैंकले सिल्भर ओक बैंकेट एण्ड इभेन्ट्स सेन्टर, गैरिधारा, काठमाडौंमा १६ औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ । सभाले बैंक अफ काठमाण्डूसँगको मर्जर प्रस्तावसँगै प्रस्तावित ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १० दशमलव ६ प्रतिशत नगद लाभांशलाई समेत स्वीकृति प्रदान गर्नेछ ।
यस वर्ष ग्लोबल आइएमई बैंकले हाल कायम चुक्तापूँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँको आधारमा कुल १३ दशमलव ६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
यी दुई बैंक एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा जान लागेका हुन् । सोमवारमात्रै यी बैंकबीच मर्जर मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको थियो । यी दुई कम्पनीबीच मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता गत असार २ गते भएको थियो । प्रारम्भिक सम्झौता भएसँगै दुबै बैंकको शेयर कारोबार रोक्का रहेको छ ।
बैंक अफ काठमाण्डूले शेयर कारोबार रोक्काको आधारमा असार १ गतेसम्म कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने बताएको छ । उता, ग्लोबल आइएमई बैंकले भने साधारण सभा प्रयोजनका लागि मंसिर ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने बताएको छ । बुक क्लोजको आधारमा ग्लोबल आइएमई बैंकको मंसिर ६ गतेसम्म कायम शेयरधनीहरूले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
हाल मर्जर तथा प्राप्ती प्रयोजनका लागि शेयर कारोबार एकिकृत कारोबार पश्चात बढीमा १५ दिनमात्र रोक्का गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएसँगै ग्लोबल आइएमई बैंक कारोबार खुला गर्ने प्रकृयामा रहेको देखिन्छ । कात्तिक २४ गतेदेखि लागू हुने गरी नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्ति प्रकृयामा रहेका कम्पनीहरूको हाल रोक्का रहेको शेयर कारोबार खुला गर्ने बाटो खोलिसकेको छ । अब सम्बन्धीत कम्पनीहरूले आधारभूत शेयरधनीहरूको विवरण सहित नेप्से र सिडिएससीमा कारोबार खुला गर्नका लागि निवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस