
काठमाडौं । नेपाल बैंकर्स संघले आगामी मंसिर महिनाका लागि ब्याजदर नबढाउने भएको छ । संघको मंगलबार बसेको बैठकले आगामी मंसिर महिनामा ब्याजदर यथावत राख्ने निर्णय भएको संघका उपाध्यक्ष सुनिल केसीले आर्थिकन्युज डटकमलाई बताए ।
उनले भने, ‘संघमा बसेको बैठकले बजारको स्थिती र नेपालमा भएको मूल्यवृद्धि हेर्दा अहिलेको ब्याजदर नै यथावत राखौं भन्ने निर्णय भएको छ । आगामी मंसिरमा ब्याजदर बढ्दैन ।’
ब्याजदर नबढाउने निर्णय गरेसँगै कात्तिक महिनामा लागू गरिएको ब्याजदर नै लागू हुनेछ । बैंकहरुले निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । गत वर्षको चैतदेखि गत असोजसम्म मासिक पूर्ववत् ब्याजदरमा १० प्रतिशतका दरले निक्षेपको ब्याजदरमा वृद्धि गर्ने निर्णय गरिएको थियो । गत भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११ दशमलव शून्य ३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा नौ दशमलव शून्य तीन प्रतिशत ब्याजदर रहेको थियो ।
त्यस्तै, अहिले भइरहेको ब्याजदर बढी भएको भन्दै विरोध भएको विषयमा उपाध्यक्ष केसी भन्छन्, ‘यसअघि पनि हामीले १२ प्रतिशतसम्म ब्याजदर तोकेका थियौं । अहिले मात्रै हामीले यतिको ब्याजदर लिएका होइनौं ।’
उता, व्यवसायीहरुले भने बैंकहरुले चर्को ब्याजदर लिएकोले उद्योगी व्यवसायी मार्कामा परेको भन्दै विरोध गर्दै आएका छन् । उनीहरुले बैंकको ब्याजदर घटाउनुपर्ने माग राख्दै आएका छन् । निक्षेपको ब्याज बढ्दा कर्जाकोसमेत ब्याज बढ्न जाने भएकाले अर्थतन्त्रका अन्य क्षेत्रमा चाप पर्दै आएको छ । ब्याजदर बढ्दा आर्थिक क्षेत्रमा चाप परेको र लगानीको वातावरण क्रमशः बिग्रदै गएको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ तथा नेपाल चेम्बर अफ कमर्सलगायतका सङ्घ संस्थाले ब्याजदर तत्काल घटाउन माग गरिरहेको छन् ।
प्रतिक्रिया दिनुहोस