aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

राष्ट्र बैंकले ४० करोड रकम मुद्दती निक्षेपमा राख्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ कार्तिक २०७९
राष्ट्र बैंकले ४० करोड रकम मुद्दती निक्षेपमा राख्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४० करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा राख्न लागेको जानकारी दिएको हो । 

केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम दामासाहीमा मुद्दती निक्षेपमा राख्न लागेको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्न लागेको हो ।  

आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन आग्रह गरिएको छ । आवेदन भने यही कात्तिक २२ गते मध्यरात १२ बजेसम्म दिन सकिनेछ । आगामी मंसिर ८ गतेदेखि २०८० को मंसिर ९ गतेसम्म तीन सय ६७ दिन उक्त रकम मुद्दती निक्षेपमा राखिनेछ । 

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशत भन्दा कम रहेको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ । कर्जा, निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेर सर्त पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस