aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

ठूलो बैंक बन्नुभन्दा पनि असल बैंक बन्नेतर्फ हामी लागौंः अध्यक्ष उपाध्याय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० कार्तिक २०७९
ठूलो बैंक बन्नुभन्दा पनि असल बैंक बन्नेतर्फ हामी लागौंः अध्यक्ष उपाध्याय

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकहरु असल बन्न लागिपर्नु पर्ने बताएका छन् ।  बुधवार नेपाल बैंकको वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले ठूलो बैंक बन्नु भन्दा पनि असल बैंक बन्नेतर्फ लाग्नु पर्ने बताएका हुन् । 

‘बजारमा बैंकहरु नाफामा छन् भन्ने हल्ला छ । तर, एक वर्षको अवधिमा हामीले निक्षेप संकलन वृद्धि ८ प्रतिशत मात्रै भएको छ । यो हाम्रो लागि चिन्ताको विषय हो’, कार्यक्रममा बोल्दै उनले भने, ‘दुई वर्षअघि जुन स्थानमा बैंक तथा वित्तीय संस्था थिए । अहिले त्यो स्थानमा बैंक तथा वित्तीय संस्था छैनन ।’ 

ब्याजदरबारे बोल्दै उनले भने, ‘बैंकहरु दीर्घकालीन मोडमा मात्रै गइरहेका छौँ । अहिलेको अवस्था हेरेर हामीले ब्याजदर बढाएनौँ । अन्तर्राष्ट्रिय जगतबाट कसरी पैसा ल्याउन सकिन्छ भनेर हामीले अभ्यास गरिरहेका छौँ ।’  

त्यस्तै, उनले मर्जरमा गएका बैंकहरुका कारण मर्जरमा नगएका बैंकहरु दबाबमा रहेको बताए । उनले भने, ‘सबै बैंकहरु मर्जरमा गइरहेका छन् । मर्जरमा गएका बैंकहरुको छुट्टै तरिकाले अगाडी बढ्नेछन् । यसले गर्दा मर्जरमा नगएका बैंकहरुलाई पनि उनीहरूसँग प्रतिस्पर्धामा जानका लागि दबाब छ ।’  

साथै नेपालका विभिन्न ठाउँमा बैंक तथा वित्तीय संस्थाको पहुँच पुगेका कारण नेपालको आर्थिक क्रियाशीलता सबै तहमा बढेको उनको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस