aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
कर्जामा बेथिति

एनआईसी एसिया बैंकको अन्धाधुन्दा घरजग्गा लगानी, जथाभावी नगर्न राष्ट्र बैंकको कडा निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ भदौ २०७६
एनआईसी एसिया बैंकको अन्धाधुन्दा घरजग्गा लगानी, जथाभावी नगर्न राष्ट्र बैंकको कडा निर्देशन

काठमाडौ । एनआईसी एसिया बैंकले अन्धाधुन्दा रुपमा घरजग्गामा लगानी गरेपछि राष्ट्र बैंकले उक्त बैंकलाई चेतावनी दिँदै जथाभावी लगानी नगर्न निर्देशन दिएको छ । केही समय अघि केन्द्रीय बैंकको सुपरिवेक्षण विभागले आधा दर्जन बैंकको ऋण लगानी सम्बन्धमा अनुसन्धान गरेको थियो । तीमध्ये केहीले  जथाभावी घरजग्गमा ऋण लगानी गरेको निष्कर्ष निकालेको थियो ।

‘आधा दर्जन वाणिज्य बैंकमा सुक्ष्म अनुसन्धान गर्याैं, तीमध्ये एनआईसी एसियालगायतले कर्जा लगानीमा जथाभावी गरेको देखियो । ’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने–‘एनआईसी एसियाले घरजग्गामा गरेको लगानी नघटाए कारबाही हुन्छ ।’

कारबाहीबाट बच्न एनआईसी एसियाले अनेक उपाय अपनाएको पाइएको राष्ट्र बैंकको भनाइ छ । उक्त बैंकले त्यसरी गरेको लगानी घटाउने तयारीमा लागेको भए पनि सकेको छैन । घरजग्गामा अन्धाधुन्दा लगानी गर्दा जोखिम बढ्छ । बैंक डुब्छन् । जनताको पैसा पनि डुब्छ । त्यसकारण पनि केन्द्रीय बैंक उक्त व्यवस्था कडाइका साथ लागू गर्न एनआईसी एसियालाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई उक्त क्षेत्रमा जाने कर्जा सिमाभित्र राख्न र आक्रामक रुपमा कर्जा लगानी नगर्न निर्देशन दिएको छ ।‘ बैंकलाई आक्रामक रुपमा घरजग्गामा कर्जा लगानी नगर्न भनेका छौं, कर्जा लगानी घटाउन निर्देशन दिएका छौं,’ केन्द्रीय बैंकका ती अधिकारीले भने ।  एनआईसी एसिया बैंक घरजग्गामा लगानी गरेको ऋण उठाउन नसक्दा समस्यामा पर्दै गएको छ ।  उसले त्यस्तो ऋण खराब कर्जामा राखेको छैन् । ऋण नवीकरण गरेको भन्दै असल कर्जामा नै राख्दै आएको छ ।

ब्याज मात्र भुक्तानी गरेको देखाएर ऋण नवीकरण गरिदिँदै आएको छ ।  त्यसो नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंक बैंकले एनआईसी एसिया बैंकलाई घरजग्गामा गएको ऋण असुल्न कडा निर्देशन दिएको छ । ऋण असुल उपर नगरे कारबाही गर्नेसम्मको चेतवानी दिँदै आएको छ ।खासगरी पछिल्लो समयमा एनआईसी एसिया बैंकले घरजग्गामा अन्धाधुन्दा लगानी गर्न पुग्दा यो समस्या आएको हो । एनआईसी एसिया बैंकले अत्याधिक मात्रमा घरजग्गामा लगानी गरेको रकम उठाउन नसक्दा उसको लागि त्यो ऋण ‘गलगाँड’ जस्तै भएको छ । घाँटीमा उम्रिएको गलगाँडलाई न फाल्न न त राख्न राख्दा नै राम्रो देखिन्छ । 

राष्ट्र बैंकले घरजग्गामा जाने कर्जालाई निरत्साहित गरे पनि एनआईसी एसिया बैंकले भित्रभित्रै अत्याधिक मात्रमा घरजग्गामा लगानी गरेको छ ।  राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले गत वर्षको चैतसम्ममा ३ खर्ब ७२ अर्ब रुपैयाँ घरजग्गामा लगानी गरेका छन् । उक्त अवधिसम्म आवासीय कर्जा २ खर्ब २८ अर्ब र एक करोडमाथिको रियल स्टेट कर्जा १ खर्ब ४४ अर्ब लगानी गरिसकेका छन् । चालू आर्थिक वर्षको अन्त्यसम्म त्यस्तो कर्जा अझै बढेको छ ।

बैंकहरुले घरजग्गामा बढी लगानी गर्न थालेपछि राष्ट्र बैंकले घरजग्गा कर्जामा कडाइ गर्ने गरी मौद्रिक नीति ल्याएको थियो । उसले शेयर र घरजग्गा कर्जामा कडाइ गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति ल्याएको थियो । तर, त्यस्तो नीतिलाई प्रवाह नगरी बैंकहरुले घरजग्गामा लगानी बढाएका छन् । नयाँ मौद्रिक नीतिमार्फत सरकारले घरजग्गा कारोबारमा जाने कर्जामा कडाइ गरेको छ ।

राष्ट्र बैंकले एक करोड रुपैयाँसम्मको व्यक्तिगत आवास कर्जालाई यथावत राखे पनि व्यापारिक प्रयोजनको रियलस्टेटमा भने धितो मूल्यांकनको ५० प्रतिशतसम्म मात्र कर्जा दिन पाउने व्यवस्था गरेको छ । यसअघि आवासीय रियलस्टेट कर्जामा धितो मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा दिन पाइने नीति थियो ।बैंक तथा वित्तीय संस्थाले आवासीय रियलस्टेट कर्जा अधिकतम् एक करोड रुपैयाँसम्म दिन पाउँछन् ।

रियलस्टेटमा मात्र कुल १५ प्रतिशतभन्दा बढी कर्जा लगानी गर्न नपाइने नियम छ । तर, पनि बैंकहरुले आन्तरिक रुपमा मिलाएर घरजग्गामा लगानी बढाइरहेका छन् ।  पछिल्लो समय राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा प्रवाह ऋण बढी भएको भन्दै त्यसलाई घटाउन पहल गरिरहेको छ । तर, पनि बैंक तथा वित्तीय संस्थाले घरजग्गामा ऋण दिन छाडेका छैनन् ।


 

प्रतिक्रिया दिनुहोस