
काठमाडौ । हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४८ वटा लघुवित्त वित्तीय कम्पनीहरु सूचीकृत छन् । जसमध्ये ४७ वटा लघुवित्त वित्तीय संस्थाहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीहरुमध्ये ८ वटा कम्पनीले नाफा कमाएका छन् भने २९ वटा कम्पनीको नाफा घटेको छ । उक्त वित्तीय विवरण अनुसार १० वटा कम्पनीहरु नोक्सानीमा रहेका छन् ।
यी हुन् नाफा कमाउने ८ कम्पनी
चालु आवको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार ८ वटा लघुवित्त कम्पनीहरुले ३.८९ प्रतिशत देखि १५४.६९ प्रतिशतसम्म नाफा कमाएका छन् । यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा गणपति लघुवित्त वित्तीय संस्था रहेको छ ।
उक्त कम्पनीले पहिले त्रैमाससम्म ६८ लाख ९२ हजार ६९४ रुपैयाँ नाफा कमाएको छ । गत आवको तुलनामा कम्पनीको नाफा १५४.६९ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा कम्पनीले २७ लाख ६ हजार ५३७ रुपैयाँ नाफा कमाएको थियो ।
छिमेक लघुवित्त वित्तीय संस्थाले ५३.७१ प्रतिशत, आरएसडिसीले १०१.९८ प्रतिशत, महुलीले ७८.२७ प्रतिशत, फर्स्र्ट माइक्रोफाइनान्सले ६१.६९ प्रतिशत, आरम्भ चौतारीले ५५.०५ प्रतिशत, नेष्डोले ११.३० प्रतिशत र उपकार लघुवित्त वित्तीय संस्थाले ३.८९ प्रतिशत नाफा कमाएको छ ।
नोक्सानीमा रहेका १० लघुवित्त कम्पनी
पहिलो त्रैैमाससम्मको वित्तीय विवरण अनुसार नोक्सानीमा रहेका कम्पनीहरुमा लक्ष्मी लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त, जनउत्थान लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, गुँरास लघुवित्त, स्वाभिमान लघुवित्त, सबैको लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त र अभियान लघुवित्त वित्तीय संस्था रहेका छन् ।
अन्य २९ वटा कम्पनीहरुको नाफा घटेको छ । सर्वाधिक नाफा घट्नेमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था रहेको छ । गत आवको सोही अवधिको तुलनामा संस्थाको नाफा ८९.२६ प्रतिशतले घटेको छ । वीन नेपाल लघुवित्तको वित्तीय संस्थाको वित्तीय विवरण भने सार्वजनिक हुन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस