aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

बैंकहरुले गत वर्षभन्दा तेब्बर लाभांश वितरण गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० भदौ २०७६
बैंकहरुले गत वर्षभन्दा तेब्बर लाभांश वितरण गर्दै

काठमाडौं । अधिकांश बैंकले लगानीकर्तालाई गत वर्षभन्दा तेब्बर लाभांश वितरण गर्ने भएका छन् । बैंकहरुले गत वर्षभन्दा बढी नाफा कमाएकाले लाभांश बढी दिन सक्ने अवस्थामा पुगेका हुन् ।

सिटिजन्स बैंक यो वर्षको लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ । उक्त बैंकले गत वर्षभन्दा तेब्बर लाभांश दिने भएको छ । सिटिजन्स बैंकको सञ्चालक समितिले नगद र बोनस गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । उक्त बैंकले १२ प्रतिशत नगद र ३ प्रतिशत बोनस दिँदै छ । गत वर्ष सिटिजन्स बैंकले बोनस र नगद गरी कुल ५.२७ लाभांश दिएको थियो । गत वर्ष उक्त बैंकले ३.६३ प्रतिशत बोनस र १.६४ प्रतिशत नगद लाभांश दिएको थियो । गत वर्षभन्दा यस वर्ष सिटिजन्स बैंकले तेब्बर बढी लाभांश दिने निर्णय गरेको हो ।

सिटिजन्स बैंकले लाभांश घोषणा गरेसँगै अन्य बैंकले लाभांश कति दिने भन्ने बारेमा छलफल गर्न थालेका छन् । सिटिजन्सले गत वर्षभन्दा तेब्बरले बढी लाभांश दिने निर्णयले अरु बैंकलाई पनि लाभांश बढाउन दबाब सिर्जना भएको छ । २८ वटै वाणिज्य बैंकको नाफा बढेकाले लाभांश पनि तेब्बरले बढाउने अनुमान गरिएको छ ।  चुक्ता पुँजी सबै बैंकले ८ अर्ब पुर्याइसकेकाले बैंकहरुले बोनसभन्दा नगद लाभांश दिने सम्भावना बढेको छ । सबैभन्दा पहिला लाभांश घोषणा गर्ने सिटिजन्स बैंकले बोनसभन्दा नगद बढी वितरण गर्ने निर्णय गरेको छ । 

सिटिजन्स बैंकको जस्तै अरु वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७४/०७५ मा बाँडेको लाभांशभन्दा आर्थिक वर्ष २०७५/०७६ मा बाड्ने लाभांश करिब तेब्बरले बढाउने अनुमान गर्न थालिएको छ । बैंकहरुले गत वर्षको अन्त्य असारसम्म गरेको नाफाका आधारमा त्यस्तो देखिएको हो । अघिल्लो आर्थिक वर्षमा कमाएको नाफा र जगेडा कोषमा राखेको रकमले गत वर्ष वाणिज्य बैंकहरुले ठिकै लाभांश वितरण गरेका थिए । गत आवमा गरेको बैंकको नाफाले यो वर्ष गत वर्षभन्दा बढी लाभांश बाड्ने सम्भावना बैंकहरुको नाफाले देखाएको छ ।  प्रत्येक बैंकले आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याइसकेकाले बैंकको लगानी बढेको र त्यसबाट आम्दानी पनि बढेको हुनाले गत आवमा बैंकको नाफा बढेको हो ।

बैंकहरुको खुद नाफा बढेको हुनाले लाभांश वितरण गर्न सक्ने क्षमतामा पनि वृद्धि भएको छ । लगानीयोग्य पुँजी अभाव खेपिरहेका बैंकहरुले नाफा भने बढाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी कमी नहुने हो भने अझै बढी नाफा गर्न सकिने उनीहरुको भनाइ छ । 

नियमित रुपमा गर्ने कमाइ र रकम फिर्ता (राइट ब्याक) लगायतका कारण बैंकहरुले नाफा उल्लेखनीय रुपमा बढाउँदै छन् । यद्यपि, नेपाल राष्ट्र बैंकले तोकेको स्प्रेडदर ४.५ प्रतिशत कायम गर्नुपर्ने बाध्यता र लगानीयोग्य पुँजी कमीका कारण बैंकको नाफामा ठूलो वृद्धि गर्न नसकिएको बैंकर स्वीकार
गर्छन् ।

बैंकहरुको व्यवसायको आकार बढेकाले नाफा पनि बढेको बैंकरको भनाइ छ । सबै वाणिज्य बैंकहरुले आठ अर्ब पुँजी पुर्याइसकेकाले त्यहीअनुसार लगानी गर्दा बैंकहरुको नाफा पनि बढ्दै गएको हो । नाफा बढाउन बैंकहरुले आक्रामक रुपमा लगानी गर्दै आएका छन् । जसका कारण आम्दानी बढेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस