
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको डेढ अर्ब भन्दाबढि रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत बैंकको कोषमा रहेको एक अर्ब ५३ करोड १५ लाख रुपैयाँ रकम मुद्दती निक्षेपमा राख्न लागेको जानकारी दिएको हो ।
केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम दामासाहीमा मुद्दती निक्षेपमा राख्न लागेको हो । सूचना अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब २२ करोड ५३ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २२ करोड ९७ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड ६५ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्न लागेको हो ।
आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन आग्रह गरिएको छ । आवेदन भने यही मंसिर १८ गते मध्यरात १२ बजेसम्म दिन सकिनेछ । आगामी पुस १ गतेदेखि २०८० को मंसिर ३० गतेसम्म तीन सय ६६ दिन उक्त रकम मुद्दती निक्षेपमा राखिनेछ ।
बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशत भन्दा कम रहेको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ ।
त्यसैगरी, आव २०७८/०७९ मा सञ्चालन मुनाफामा (व्यवस्था पछिको) रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको र कर्जा, निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेर सर्त पूरा गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस