
काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहकको पहिचान हुन नसकेमा खाता नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकबाट “क”,“ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधनमा यस्तो उल्लेख गरिएको छ ।
उक्त निर्देशनमा भनिएको छ, ‘प्रचलित कानून बमोजिम ग्राहक पहिचान सम्बन्धी प्रावधानहरु पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्ने वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्नेछ । यस्तो अवस्थामा संस्थाले आवश्यक ठानेमा शंकास्पद कारोबार/गतिविधी प्रतिवेदन (Suspicious Transaction/ Activity Report) वित्तीय जानकारी इकाईमा पेश गर्नेछ ।
त्यस्तै, इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीहरूले पालना गनुपर्ने आचरण सम्बन्धमा सदाचार नीति (Code of Conduct) तर्जुमा गरी लागू गर्नु पर्ने समेत जनाइएको छ ।
उक्त निर्देशनमा नेपाल राष्ट्र बैंक वा अन्य निकायहरुले खाता रोक्का/फुकुवा गरेका व्यक्तिहरुको अद्यावधिक सूची तयार गरी यस्तो सूचीलाई ग्राहक पहिचान पद्दतिको आधारको रुपमा लिनु पर्ने समेत भनिएको छ ।
प्रतिक्रिया दिनुहोस