aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

वित्तीय पहुँचका बारेमा राष्ट्र बैंकले खोजीनीति गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको वित्तीय पहुँचको वास्तविक अवस्था पत्ता लगाउन अनुसन्धान शुरु गरेको छ  । वित्तीय पहुँचको अद्यावधिक र स्पष्ट तथ्यांक पत्ता लगाउने गरी राष्ट्र बैंकले अनुसन्धान थालेको हो  । 

केही वर्ष अघिको तथ्यांकले ४० प्रतिशत जनसंख्या वित्तीय पहुँचमा भएको देखाएको थियो । अहिले पनि केही व्यक्तिले त्यही तथ्यांकका आधारमा सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । कतिपयले भने ४० प्रतिशत जनसंख्यामा वित्तीय पहुँच पुगेको भन्ने तथ्यांक धेरै पुरानो भइसकेको बताउँदै आएका छन् । कतिपयले ६० प्रतिशत पुगेको बताउने गरेका छन् । केन्द्रीय बैंकमा अद्यावधिक तथ्यांक नभएका कारण यो समस्या आएको हो । यही खुल्दुलीलाई मेटाउन अहिले राष्ट्र बैंकले अनुसन्धान शुरु गरेको छ । राष्ट्र बैंकको प्रारम्भिक आकंडाअनुसार ६० प्रतिशत जनसंख्यामा वित्तीय पहुँच पुगेको अनुमान गरिएको छ ।

मुलुकका कति जनसंख्या वित्तीय पहुँचमा छन् ? के कतिले वित्तीय सेवा लिएका छन् भन्नेलगायत विषयको अद्यावधिक तथ्यांक खोज्न अनुसन्धान शुरु गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्टले जानकारी दिए  । राष्ट्र बैंकले सबै वाणिज्य बैंकलाई परिपत्र गरी वित्तीय पहुँचबारे जानकारी माग गरिसकेको छ । बैंकहरूले दिएको खाता संख्यालगायतका आधारमा वित्तीय पहुँच ६० प्रतिशत जनसंख्यामा पुगेको प्रारम्भिक आँकडा राष्ट्र बैंकले निकालेको हो ।

गत जेठ मसान्तसम्म निक्षेप खाताको संख्या २ करोड ७३ लाख पुगेको छ  । त्यसैगरी, सोही अवधिमा बैंक तथा वित्तीय संस्थामा ऋणिको संख्या १४ लाख ५४ हजार पुगेको छ  । ‘निक्षेप खाताको संख्यालाई हेर्दा कुल जनसंख्याको ८० प्रतिशत जनसंख्या वित्तीय पहुँचमा रहेको देखिन्छ,’ भट्टले भने– ‘तर, एकै व्यक्तिले चार–पाँचवटा बैंकमा समेत खाता खोल्ने गरेका कारण उक्त तथ्यांकले वित्तीय पहुँचको वास्तविक र स्पष्ट अवस्था देखाउँदैन  ।’ अबको अनुसन्धानले एक व्यक्तिको एक खातालाई मात्रै गणना गरेर वित्तीय पहुँचको तथ्यांक निकाल्ने उनले बताए  ।

बैंक तथा वित्तीय संस्थाले शाखा विस्तारलाई तीव्रता दिइरहेका छन् । हाल सबै वर्गका समेत गरी कुल १ सय ७६ वटा बैंक तथा वित्तीय संस्था रहेका छन् । जेठ मसान्तसम्म वाणिज्य बैंक २८ वटा, विकास बैंक ३२ वटा, वित्त कम्पनी २४ वटा र लघुवित्त कम्पनी ९१ वटा र एक पूर्वाधार विकास बैंक छन् । । जेठ मसान्तसम्म सबै बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८ हजार ५ सय ६४ पुगेको राष्ट्र बैंकले जनाएको छ  । 

हाल मुलुकका ७ सय ५३ स्थानीय तहमध्ये जेठ मसान्तसम्म ७ सय ३२ तहमा वाणिज्य बैंकका शाखा विस्तार भइसकेका छन् । सबै स्थानीय तहमा बैंकका शाखा पुगेसँगै वित्तीय पहुँचको अवस्थासमेत विस्तार हुने राष्ट्र बैंकको भनाइ छ ।

केन्द्रीय बैंकले ‘एक्सेल सफ्टवेयर’ विकास गरेर वित्तीय पहुँचको अवस्था निकाल्ने तयारीमा छ । शुरुमा मुलुकभरको वित्तीय अवस्थाको तथ्यांक निकाल्ने र त्यसपछि प्रादेशिक तथ्यांक निकाल्ने योजना राष्ट्र बैंकले बनाएको छ । कुन प्रदेशमा कति खाता छन् ? कति जनसंख्या वित्तीय पहुँचमा छ ।  लिंग, क्षेत्रलगायत फरक–फरक स्वरूपमा समेत तथ्यांक निकाल्ने राष्ट्र बैंकको भनाइ छ ।
 

प्रतिक्रिया दिनुहोस