
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले नयाँ बानेश्वरमा रहेकाे सहकारी विभागलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार महासंघले उक्त पत्र बुझाउँदै वर्तमान समस्या समाधान र खराब ऋण असुल गर्न सहयोग मागेको छ ।
‘सम्पत्ति रोक्का कालो सूचीमा समावेश लगायतका व्यवस्थामार्फत सहकारी संस्थाहरूको खराब ऋण असुलीमा आवश्यक सहयोग गर्नुपर्ने’, उक्त पत्रमा भनिएको छ । यसका साथै महासंघले तत्काल सम्बोधन गरी समस्या समाधानका लागि बजार अनुरूप स्वचालित रूपमा सन्दर्भ व्याजदर घटबढ हुने गरी पुनरावलोकन हुनुपर्ने र सरकारका विभिन्न कोषमा रहेको रकम राष्ट्रिय सहकारी बैंकलाई सहुलियतपूर्ण व्याजमा उपलब्ध गराउन सिफारिस गरी तरलता व्यवस्थापनमा सहयोग गर्नुपर्ने माग गरेको छ ।
त्यस्तै, उनीहरुले विभागसँग ऐनमा व्यवस्था भएवमोजिम कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण तथा वचत तथा कर्जा सुरक्षण कोषको कार्यान्वयन हुनुपर्ने र. सहकारी क्षेत्रको विषयमा सकारात्मक सन्देश प्रवाह हुने गरी सदस्य तथा आम समुदायमा सहकारी विभागबाट अपिल जारी गर्नुपर्ने माग राखेका छन् ।
सन्दर्भ व्याजदरका कारण सहकारी संस्थाहरूले स्वचालित रूपमा व्याजदर परिवर्तन गर्न यस क्षेत्रको पूँजी अस्वाभाविक रूपमा पलायन हुँदै गएको महासंघको ठहर छ । यस महासंघले प्रदेश तथा जिल्लास्तरीय संघहरूबाट सन्दर्भ व्याजदर पुनरावलोकन कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण तथा बचत तथा कर्जा सुरक्षण कोषको स्थापनाका लागि यस अगावै पटक पटक सुझाव तथा ध्यानाकर्षण समेत गराएको थियो ।
प्रतिक्रिया दिनुहोस