aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

सबै जिल्लामा सरकारी बैंकको पहुँच

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ भदौ २०७६
सबै जिल्लामा सरकारी बैंकको पहुँच

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक आफ्ना १४ शाखा कार्यालय विस्तार गरेको छ । अब बैंकको शाखा कार्यालय २२२ बाट २३६ पुगेको छ । अर्थमन्त्री डा.युबराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५ प्रदेशका १२  जिल्लामा रहेका १४ वटा नयां शाखा कार्यालयहरुको संयुक्त डिजिटल प्रविधिबाट बुधबार उद्घाटन गरेका थिए  ।

२८ कमिर्शियल बैंकमध्ये सबैभन्दा बढी अर्थात् ३१ लाख ग्राहक पुगेको सो बैंकले आज विस्तार गरेको शाखा कार्यालयमा  झापाको चकचकी,मोरङको  कसिंयावजार , रौतहटको चन्द्रपुर , मकवानपुरको  भीमफेदी र महोत्तरीको पिपरामा नयाँ शाखा सञ्चालनमा ल्याएका छन् । त्यस्तै पर्साका पोखरीया, काठमाडौको टोखा र कोटेश्वर, तनहुँको खैरेनीटार,गूल्मीको पूर्तिघाट, कपिलबस्तुको चन्द्रौटा र  दाङ घोराही  रहेका छन् । 

अर्थमन्त्री डा युवराज खतिवडाले डिजिटल माध्यमबाट बुधबार ती शाखा कार्यालयको शुभारम्भ गर्दै पुँजि बजार सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । उनले भने, “आर्थिक गतिविधि बढिरहेको छ । रु एक खर्बको विदेशी लगानी आउने प्रतिबद्धता आएको छ । आर्थिक वृद्धिदर बढेको छ ।” अर्थमन्त्री डा खतिवडाले बचत खाताका सेवाग्राहीलाई प्रदान गर्ने ब्याज रकम वृद्धि गर्न र स्वायत्ताभित्रको जवाफदेहीता प्रदान गर्न बैंकसित आग्रह गर्दै तरलताको सङ्कट आउन नदिन, सस्तो ब्याजदरमा कृषि, पर्यटन, घरेलु उद्योगम लगानी बढाउनुपर्नेमा जोड दिए ।

बैंक सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारको नीति निर्देशनभित्र रही बैंकले गत आवमा सहुलियत कर्जाअन्तर्गत  ४० करोड रुपैयाँ लगानी गरेको र अगामी दिनमा लगानी वृद्धि गर्दै लैजाने बताए । 

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले सहुलियत दरमा कर्जा वितरण कार्यलाई प्रभावकारी कार्यान्वयन गर्न बैंकसित आग्रह गर्दै उत्पादनशील कर्जा वितरण, वित्तीय समावेशीता र वित्तीय स्थायित्वमा ध्यानुपर्ने बताए । 

बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले गत आवका बैंकले  पाँच अर्ब ३२ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल रहेको जानकारी दिँदै बैंकको निक्षेप एक खर्ब ९० अर्ब रुपैयाँ रहेको बताए । 

उक्त समारोहमा नेपाल राष्ट बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी, शिवराज श्रेष्ठ, कार्यकारी निर्देशकहरु देबकुमार ढकाल, मुकुन्दकुमार क्षेत्री, राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्यहरु निर्मलहरि अधिकारी, रबिन्द्रलाल श्रेष्ठ, अर्जुनबहादुर अधिकारी, डा. माधब प्रसाद दाहाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, प्रदेश कार्यालयका प्रमुख, कम्पनी सचिव, काठामाडौं उपत्यका भित्रका शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस