aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अर्थतन्त्र सही तरिकाले अगाडि बढेन भने समग्र मुलुक नै सङ्कटमा जान्छ: ढकाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ मंसिर २०७९
अर्थतन्त्र सही तरिकाले अगाडि बढेन भने समग्र मुलुक नै सङ्कटमा जान्छ: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अन्तर मन्त्रालय र विभागबिच समन्वय हुन नसक्दा विभिन्न  समस्या  आएको बताएका छन् । बुधवार काठमाडौंमा भएको नेपाल आर्थिक पत्रकार संघको १३ औँ वार्षिक साधारण सभा एवम् छैठौँ महासभामा उनले यस्तो बताएका हुन् ।

कार्यक्रम बोल्दै उनले भने, ‘अन्तर मन्त्रालय र विभागबिच समन्वय हुन सकेको छैन । एक अर्कामा समन्वय नभएका कारण हामी पछाडि परेका छौँ ।’ 

त्यस्तै निजी क्षेत्रले उठाएका विषय गलत तरिकाले व्याख्या गरिएको बताउँदै उनले भने, ‘निजि क्षेत्रले उठाएका विषय निजी क्षेत्रको लागि मात्र होइन । यसमा गलत तरिकाले प्रचार नगरौँ ।’

अर्थतन्त्र सही तरिकाले अगाडि बढेन भने निजी मात्र होइन समग्र मुलुक नै सङ्कटमा जाने समेत उनले बताए । साथै अब आम नेपालीले चाहेको आर्थिक समृद्धिको मुद्दा नै रहेको समेत उनको भनाइ छ । 

वरिष्ठ उपाध्यक्ष ढकालले अहिले राजनीतिमा नभइ आर्थिक मुद्दा प्राथमिकतामा पर्नुपर्ने बताए । आर्थिक समृद्धिका कुरा ओझेलमा पर्दा र सरकारकै अन्तर निकायबीच समन्वय हुन नसक्दा विकास निर्माणका काम झिनामसिना समस्याले अल्झिने गरेको उनको भनाइ छ । 

‘अहिलेका समस्या समस्या निजी क्षेतत्रको मात्र समस्या होइन । तरलता अभाव समस्याले लगानी बढाउन नसकेको, मुद्रास्फीतिले आम उपभोक्ताको खपतमा समस्या रहेको छ । यसले सरकारी राजस्वमा पनि असर पारिरहेको छ’ उनले भने । 

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले अहिले तरलता अभाव समस्या कायमै रहेकाले सरकारले आन्तरिक ऋण उठाउन नहुने धारणा राखे । उनले भने, ‘सरकारले अहिले आन्तरिक ऋण उठाएमा तरलतामा थप समस्या देखिन्छ । त्यसकारण केही समय आन्तरिक ऋण नउठाउन हाम्रो आग्रह छ ।’  यी समस्या नेपालको मात्र नभइ विश्वव्यापी रुपमा नै देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस