
काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने प्रतिबद्धता जनाएका बैंकलाई ताकेता शुरु गरेको छ । मौद्रिक नीतिले प्राथमिकतामा राखेको विषयमा खासै प्रगति नदेखिएपछि केन्द्रीय बैंकले ताकेता बिहीबार बाणिज्य बैंकहरुलाई पत्र पठाएको हो। स्रोतका अनुसार पत्रमा मर्जरको बिषयमा भएका प्रगति विवरण अभिलम्ब राष्ट्र बैंकसमक्ष पेस गर्न बैंकहरुलाई निर्देशन दिइएको छ । जसअनुसार अब प्रतिबद्धता जनाएका सबै (२३ वटै) बाणिज्य बैंकले केन्द्रीय बैंकमध्ये कुन बैंकले कुन बैंकसँग कुन तहमा कुरा भएको छ भन्ने बारेमा जानकारी गराउनु भनिएछ । यसबाट राष्ट्र बैंकले बिग मर्जरलाई कार्यान्वयन गरेरै छाड्ने अठोट राखेको देखिन्छ ।
राष्ट्र बैंक स्रोतका अनुसार मर्जरमा जाने प्रतिबद्धता जनाएका बैंकमा पछिल्ला दिन तत्परता देखिएको छैन । आपसमा गाभिने सहमति जनाइसकेका बैंकसमेत सो सम्झौता कार्यान्वयन गर्ने विषयमा उदासिन देखिएपछि राष्ट्र बैंकले चासो बढाएको हो । मर्ज गर्ने सहमति गरिसकेका बीचको सहमति नै टुट्ने, बैंक मर्जर शुरु नै नहुने भन्ने चर्चा व्याप्त रहेको बेला राष्ट्र बैंकले सक्रियता बढाएको छ ।
राष्ट्र बैंकका अनुसार २३ वटा वाणिज्य बैंकले मर्जरमा जाने प्रतिबद्धता जनाइसकेका छन् । त्यसैगरी तीनवटा विकास बैंकले पनि मर्जरमा जाने इच्छा देखाएका छन् । प्रतिबद्धता जनाएकामध्ये चार बैंकले एक आपसमा मर्ज गर्ने सहमतिसमेत गरिसकेका छन् । ग्लोबल आइएमईमा जनता बैंक तथा सिटिजन्स बैंकमा सहयोगी विकास बैंक मर्ज हुने घोषणा यसअघि नै भइसकेको छ । त्यस्तै प्राइम कमर्सियल बैंकसँग कैलाश विकास बैंक र ललितपुर फाइनान्स मर्ज गर्न विशेष साधारणसभा नै गरिसकेका छन् । एनएमबि बैंकसँग ओम डेभलपमेन्ट बैंक मर्ज गर्न प्रताव विशेष साधारण सभाले पास गरेर एकीकृत कारोबारको चरणमा रहेका छन् ।
आपसमा सहमति जनाइसकेका बैंकबीचको मर्जर टुग्याउने र अरुलाई दबाब दिने उद्देश्यले पछिल्लो पत्राचार गरिएको राष्ट्र बैंक सम्बद्ध स्रोत बताउँछ ।मर्जरका लागि आफुहरु तयार रहेको जानकारी राष्ट्र बैंकलाई दिने अन्य बैंकमा नेपाल एसबीआई, एनएमबि, सन्राइज, लक्ष्मी, एनसीसी, सानिमा, सिभिल, माछापुच्छ«े, सेञ्चुरी, नेपाल इन्भेष्टमेन्ट, एनआईसी एसिया, हिमालयन, कुमारी, मेगा, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल बंगलादेश बैंक रहेका छन् ।
प्रतिक्रिया दिनुहोस