
काठमाडौं । पछिल्ला दिनमा फेरि सहकारी सञ्चालकहरू भाग्ने र सहकारीमा बचतकर्ताहरू पैसा निकाल्न लाइन लाग्ने क्रम बढेको छ । बढ्दो महँगी र बजारमा तरलता अभाव देखिदा सिर्जित यो समस्याले अर्को महत्त्वपूर्ण पक्षमा समेत प्रभाव देखाएको छ, त्यो हो कालोसूची ।
गत मङ्सिर महिनामा मात्र ९ वटा सहकारी कालोसूचीमा परेका छन् । यी सहकारीहरूले लिएको ऋण तिर्न नसकेपछि कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो ।
एकातिर बचतकर्ताको रकम फिर्ता गर्न धौधौ परिरहेका बेला विभिन्न प्रयोजनका लागि लिएको ऋण नतिरेर कालोसूचीमा परेपछि त्यस्ता सहकारीका सदस्य र बचतकर्ताहरू नराम्ररी चपेटामा पर्ने देखिएको छ ।
कर्जा सूचना केन्द्रले प्रकाशित गरेको सूची अनुसार मङ्सिर ६ गते लालुपाते मल्टीपर्पोज को-अपरेटिभ पनि कालोसूचीमा परेको हो । जसका सञ्चालक दीपेन्द्र श्रेष्ठ, रामकुमार श्रेष्ठ र सन्तोष जोशी रहेका छन् ।
त्यस्तै, मङ्सिर १५ गते स्मृति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ पनि कालोसूचीमा केन्द्रले राखेको छ । जसका सञ्चालक देवेन्द्र श्रेष्ठ रहेका छन् । मङ्सिर २१ गते भानु पाथीभरा बचत तथा ऋण सहकारी संस्था कालोसूचीमा परेको छ । यसका सञ्चालक चिरहाङ राई, कमल बहादुर धमला, नमिता ढकाल, राजु राई, रुद्रप्रसाद धमला, सितार राई र युवराज धमला रहेका छन् ।
मेगा ड्रिम मल्टीपर्पोज को-अपरेटिभ लिमिटेडलाई पनि केन्द्रले मङ्सिर २५ गते कालोसूचीमा राखेको छ । जसका सञ्चालक दामोदर शर्मा, सुजता श्रेष्ठ, उमाकान्त न्यौपाने रहेका छन् ।
कर्जा सूचना केन्द्रका अनुसार मङ्सिर २५ गते नै अनिल गौतम र सबिना राउत सञ्चालक रहेको सिद्धार्थ मल्टिपर्पोज को-अपरेटिभ पनि कालोसूचीमा परेको छ । यस्तै, मङ्सिर २६ गते पुण्यभुमि सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ समेत कालोसूचीमा परेको छ । यस सहकारीका सञ्चालक सुनिल कुमार श्रेष्ठ र ट्रक बहादुर कार्की रहेका छन् । आस्था सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ पनि सोही दिन कालोसूचीमा परेको छ । यस सहकारीका सञ्चालक अनिल खड्का, कुम्भराज जोशी, सुनिल खड्का रहेका छन् ।
उत्तम सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड पनि मङ्सिर २८ गते कालोसूचीमा परेको छ । जसका सञ्चालक बद्री बहादुर जोशी, छत्र कुमारी मगर, ध्रुवराज लामा, दुर्गाराज न्यौपाने, ईश्वरी राजबहाक, लक्ष्मी श्रेष्ठ, मन्दिरा राजबहाक रहेका छन् ।
पशुपति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड पनि कालोसूचीमा परेको छ । यो सहकारी मङ्सिर २९ गते कालोसूचीमा परेको हो । जसका सञ्चालक चन्द्र बहादुर तामाङ, उद्धव प्रसाद पाण्डे रहेका छन् ।
मंसिरमा दुई हजारभन्दा बढी ऋणी कालोसूचीमा
ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने ऋणीहरूको सङ्ख्या बढ्दै गएको छ । कर्जा सूचना केन्द्रले विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीयबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरू कालोसूचीमा राख्ने गरेको छ । यसरी कालोसूचीमा पर्ने ऋणीहरूको सङ्ख्या बढेको हो ।
कर्जा सूचना केन्द्रका अनुसार यही मङ्सिर महिना १ गतेदेखि २९ गतेसम्मको अवधिमा दुई हजार एक सय ८१ जना ऋणी कालोसूचीमा परेका हुन् । यस महिनाको पहिलो दिन बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यक्ति तथा कम्पनीहरूको सङ्ख्या ८३ रहेको छ । यस दिन काभ्रे रियल स्टेट एण्ड बिल्डिङ, अल मेसिनरी सप्लायर्स, अजित विशाल हार्डवेयर, रिफ्रेस फेसन कलेक्सन लगायत रहेका छन् ।
गत मङ्सिर महिनामा कालोसूचीमा कृषि फार्मदेखि होटेल, सहकारी, उद्योगी, व्यापारी, कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा परेको देखिन्छ । त्यस्तै, उद्यमी, मार्ट, खुद्रा पसलेदेखि निर्माण व्यवसायीहरूसमेत यस अवधिका कालोसूचीमा परेका हुन् ।
यस महिनाको दोस्रो दिन अर्थात् मङ्सिर २ गते ७५ जना ऋणीहरू ऋण तिर्न नसकेर कालोसूचीमा परेका छन् । जल भवानी कृषि तथा पशुपालन कम्पनी, अंशु किराना तथा जनरल कम्पनी, रामबुद्ध ट्रेडर्स प्रालीलगायत व्यक्ति तथा कम्पनी यस दिन कालोसूचीमा परेका छन् ।
त्यस्तै, मङ्सिर ६ गतेदेखि १७ गतेसम्मको अवधिमा श्रेष्ठ मोटर्स पार्ट, हनुमान हार्डवेयर एण्ड मोबाइल सेन्टर, पाल्पा भैरव ग्रिल उद्योग, न्यू पशुपति इलेक्ट्रोनिक्स एण्ड मोबाइल सर्भिस, बागमती मल्टी बिजनेश प्राली, नारायण फ्रेस भेजिटेभल्स एण्ड फ्रुट्स सप्लायर्स, भेरी कर्णाली गोबरग्यास तथा कृषियन्त्र विकास प्राली, एकता हस्तकला तथा चाँदी पसल, एभरेष्ट इन्टरनेशनल डिलक्स होटेल कम्पनी लगायत व्यक्ति तथा कम्पनीहरू ऋण लिएको पैसा तिर्न नसकेर कालोसूचीमा परेको कर्जा सूचना केन्द्रले जनाएको छ ।
मङ्सिर १७ गतेदेखि २९ गतेसम्मको अवधिमा बन्जार ग्लोबल ट्रेडर्स, एभरेष्ट कृषि व्यवसाय फर्म, हिमालयन ड्रिकिङ वाटर एण्ड बेभरेज इन्ड्रस्ट्रिज, एभरेष्ट इन्टरनेशनल प्राली, ग्लासियर इन्टरनेशनल स्कुल एण्ड कलेज, काभ्रे रियल स्टेट एण्ड बिल्डिङ, प्रिथा रियल स्टेट एण्ड बिल्डिङ पनि कालोसूचीमा परेका छन् । मङ्सिर महिनामै बागेशवरी खड्का हाउजिङ डेभलपर्स, प्रजवल फर्निचर उद्योग, जेनिसा टेलरिङ एण्ड कस्मेटिक पसल, फस्ट वेल एण्ड इन्जिनियरिङ प्राली, रोयल मिथिला एक्सपर्ट इम्पोर्ट प्राली, भेरी कर्णाली ज्वलर्स, सिटी भिलेज लज एण्ड रेस्टुरेन्ट लगायत व्यक्ति तथा कम्पनी कालोसूचीमा परेको कर्जा सूचना केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस