
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले माछापुच्छ्रे बैंकसँग स्पष्टिकरण सोधेको छ । नेप्सेले लाभांश घोषणा सम्बन्धी जानकारी गराउन ढिलो गरेको भन्दै कारणसहित तीन दिनभित्र पेश गर्ने गरी स्पष्टीकरण सोधेको हो । बैंकले भदौ ११ गते बुधबार सञ्चालक समितिको बैठक मार्फत लाभांश सम्बन्धी निर्णय गरे पनि नेप्सेलाई भने भदौ १२ गते बिहीबार १२ः५८ बजे मात्र उपलब्ध गराएको नेप्सेको भनाइ छ ।
बैंक र नेप्सेबीच भएको सूचीकरण सम्झौता बमोजिम लाभांश सम्बन्धी निर्णय गर्दा कुन मितिसम्म कायम शेयरधनीहरुको लागि हो भन्ने जानकारी निर्णय हुने बित्तिकै वा भोलिपल्ट कारोबाट शुरु हनु अघि नेप्सेलाई दिनुपर्ने भन्ने उल्लेख छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस दिने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरणयोग्य हुनेछ । हाल बैंकको चुक्ता पुँजी रू. ८ अर्ब ५ करोड ५६ लाख ९३ हजार रहेको छ । बोनस वितरण पश्चात भने बैंकको चुक्ता पुँजी रू. ८ अर्ब ४५ करोड ८४ लाख ७७ हजार पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस