aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नविलको नियो बैंक शुभारम्भ, परिवर्तनको नेतृत्व हामी लिन्छौं : उपाध्यक्ष चौधरी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ पुस २०७९
नविलको नियो बैंक शुभारम्भ, परिवर्तनको नेतृत्व हामी लिन्छौं : उपाध्यक्ष चौधरी

काठमाडौं । नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याइएको छ । नबिलबैंकले बिहीबार भर्चुअल कार्यक्रम गरी एन बैंक (नियो बैंक) को शुभारम्भ गरेको हो ।

बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनबैंक एण्ड अपरेसनका नायव प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मीले संयुक्त रूपमा एन बैंकको शुभारम्भ गरेसँगै नबिल बैंक कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ । मोबाइल बैंकिङ एपलाई पूर्णरुपमा परिमार्जन गरीे एन बैंकको शुभारम्भ गरेर नबिल डिजिटल बैंकिङको नेतृत्व गर्न सफल पहिलो बैंक भएको छ ।

नबिल बैंकले एन बैंकलाई एक छुट्टै भर्चुअल शाखाको रूपमा स्थापना गरेको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले एन बैंकले जनताको बैंकिङ व्यवहारमा परिवर्तन ल्याउने र दीगो बैंकिङमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष चौधरीले भने, ‘एन बैंकको शुभारम्भसँगै अब बैंकिङ क्षेत्रमा ‘परिवर्तन’को नेतृत्व नबिल बैंकले गर्नेछ । ग्राहकहरूले जुनसुकै समय र स्थानबाट पनि डिजिटल बैंकिङ सेवाहरू प्राप्त गर्न सक्ने यो नवीन प्रविधिले बैंकिङमा नयाँ तरङ्ग ल्याएको छ ।’ उपभोक्ताले विश्वस्नीयता र व्यक्तिगत अनुभवद्वारा मूल्याङ्कन गर्ने बताउँदै उनले भने, ‘एनबैंक कुनै पनि भौतिक शाखा विनाको निजीकृत भर्चुअल बैंकिङ हो ।’ 

बैंकका अनुसार ग्राहकले आफ्नो साथमा रहने मोबाइल फोनको सहायताले एनबैंकको उपयोग मार्फत् खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै परम्परागत बैंकिङ सेवाहरू सजिलैसँग लिन सक्नेछन् । एनबैंकले समय र लागतमा ठूलो बचत हुने बताउँदै उपाध्यक्षचौधरीले अबको बैंकिङ भविष्य डिजिटल बैंक नै रहेको स्पष्ट गरेका छन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले डिजिटल बैंकको नेतृत्वगर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । ‘एन बैंकको औपचारिक शुभारम्भ भएको घोषणा गर्न पाउँदा म हर्षित छु । हामीले सबै डाटा माइग्रेसन र प्रणाली अपग्रेड पूरा गरेका छौं र आजनबिल स्मार्ट बैंक एप उत्कृष्ट बैंकिङ अनुभवको लागि एन बैंकमा परिणत भएको छ ।’ अनलाइन बैंकिङ रोज्ने ग्राहकलाई एन बैंकले आफ्नो खाता खोल्नेदेखि डिजिटल ऋण प्राप्त गर्नेसम्मका सेवा दिने उनले बताए ।

नबिल बैंकका डिसिइओ विनय कुमार रेग्मीले नेपाली बैंकिङ उद्योगमा नवयुगको सुरुवात भएको बताए । ‘आज पूर्णतया डिजिटल बैंक, एनबैंक शुभारम्भ गरेर नेपाली बैंकिङ उद्योगमा नवयुगको सुरुवात भएको छ,’ रेग्मीले भने, नबिल बैंकले डिजिटल प्रविधिमा अगुवाई गरिरहेको छ, हामीले डिजिटल उत्पादन र सेवाहरू सिर्जना गरेका छौं जसले तपाईंको बैंकिङ सेवालिने तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ ।’ 

के हो एनबैंक, कसरी उपयोग गर्ने ?
एन बैंक (नियो बैंक)  मोबाइल बैंकिङ एपलाई पूर्ण रूपमा परिमार्जन गरेर नेपालमा पहिलो पटक नबिल बैंकले सुरु गरेको डिजिटल बैंक हो । यस पहिले नै नबिल स्मार्ट बैंक एप प्रयोग गरिरहेका ग्राहकहरूले अपडेट प्राप्त गर्छन् जहाँ लोगोे ‘ए’ बाट एनबैंकको ‘एन’मा परिणत हुन्छ । यस बाहेक, नयाँ र आधुनिक प्रयोगकर्ता इन्टरफेस प्रदानगर्न एपको लुक एण्ड फिल अपडेट गरिएको छ । 

नबिल बैंकमा खाता नखोलेका ग्राहकले पनि अब आफ्नो मोबाइलमा रहेको एनबैंक एपबाट बैंक खाता खोल्न सक्नेछन् । एन बैंकमार्फत् खाताखोल्न जम्मा ३० सेकेन्ड लाग्ने नबिल बैंकको दाबी छ । एन बैंक एपबाट ग्राहकहरूले अब सिधै आफ्नो बैंक खाता खोल्नेदेखि ऋणका लागि आवेदन दिनसम्मका सम्पूर्ण गतिविधिहरू गर्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस