aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पोखरा फाइनान्सले पुस ३० गते प्रस्तावित लाभांश पारित गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० पुस २०७९
पोखरा फाइनान्सले पुस ३० गते प्रस्तावित लाभांश पारित गर्दै

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले पुस ३० गते २६औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ८ गतेको सञ्चालक समितिको बैठकले पोखरा, कास्कीमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित कुल ४ दशमलव २१ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

उल्लेखित प्रस्ताव सहित संस्थापक समूहबाट सञ्चालक समितिमा मनोनित सञ्चालकको जानकारी, स्वतन्त्र सञ्चालक नियुक्तीको जानकारी र संस्थापक शेयरधनीबाट तीन जना सञ्चालक निर्वाचन समेत सभामा हुनेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा त्यसको पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि पुस १९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने कम्पनीको भनाई छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस