
काठमाडौं । ओरेण्टल को–अपरेटिभ लिमिटेड विरुद्ध ३ अर्ब रुपैयाँ भन्दाबढिको माग दावी परेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार उक्त सहकारी विरुद्ध ४ हजार १३२ जना बचतकर्ताहरुले ३ अर्ब २२ करोड ७२ लाख ६७ हजार रुपैयाँ बराबरको मागदावी गरेका हुन् ।
समितिको कार्यालयले मङ्सिर २३ गते १५ दिनको समय थप गरी ओरेण्टल पीडितलाई अनलाइनमार्फत मागदावी गर्न सूचना प्रकाशित गरेको थियो । हालसम्म उक्त बराबरको मागदावी परेको समितिको कार्यालय प्रमुखसमेत रहेका सदस्य सचिव केशवप्रसाद पौडेलले जानकारी दिए ।
ओरेण्टल सहकारीका पीडितहरु काठमाडौं उपत्यका बाहिरका पनि रहेका छन् । उनीहरुले आवेदन दिनका लागि समय थप गर्नुपर्ने माग राखेको समेत उनले जानकारी दिए ।
सरकारले पहिलोपटक २०७४ कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको ओरेण्टल को–अपरेटिभ लिमिटेडले देशभर नौ शाखा खोली रु १० अर्ब भन्दामाथि बचत सङ्कलन गरेर भागेको अभिलेख पाइएको समितिको कार्यालयले यसअघि नै जनाएको थियो ।
यसअघि माग दावी गर्नेमा सहकारीका बचतकर्ताको साँवा, ब्याज, शेयर र अपार्टमेन्टको समेत गरी रु १० अर्ब भन्दामाथि पैसा फिर्ता गर्नुपर्ने अभिलेख रहेको समितिले जनाएको हो । विसं २०७४ मा सहकारी मन्त्रिस्तरीय निर्णय गरी ओरेण्टललाई समस्याग्रस्त घोषणा गरिएको थियो ।
ओरेण्टललाई समस्याग्रस्त घोषणा गरेको केही समयमै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्चले २०७६ फागुन ११ गते सहकारीलाई नै बचत फिर्ताको समस्या समाधान गर्न आदेश दिएको थियो । सहकारी सञ्चालक समितिले समस्या समाधान नगरेपछि सरकारले दोस्रोपटक ओरेण्टललाई समस्याग्रस्त घोषणा गरेको हो ।
यस वर्ष गत असोज ७ गते सरकारले दोस्रोपटक ओरेण्टललाई समस्याग्रस्त घोषणा गरेको थियो । दोस्रोपटक समस्याग्रस्त घोषणा गरेपछि यही मङ्सिर ९ गतेदेखि एक महिनाको समय दिएर पीडितहरुलाई मागदावी गर्न भनिएको थियो ।
समितिले बचतकर्ताको अद्यावधिक आवेदन माग गरेपछि ओरेण्टलका पूर्वअध्यक्ष सुधीर बस्नेत रोक्न माग गर्दै सर्वोच्च अदालत गएकामा अन्तरिम आदेश नगरी दुवै पक्षलाई लिखित जवाफ पेश गर्न आदेश भएको छ । सरकारले हालसम्म १२ सहकारीलाई समस्याग्रस्त घोषणा गरी त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी समितिलाई दिएको छ ।
प्रतिक्रिया दिनुहोस