
काठमाडौं। बचत खातामा सदस्यहरूले राखेको पैसा सहकारी सञ्चालकले फिर्ता नदिएपछि अहिले सञ्चालक र बचतकर्ता बिचको द्वन्द्व जताततै देखिन थालेको छ। प्रहरीको समन्वयमा विवाद समाधान हुन नसकेपछि त्यस्ता विषय सम्बन्धित स्थानीय तह वा सहकारी विभागसम्म समेत पुग्ने क्रममा समेत बढोत्तरी देखिएको छ।
यसै क्रममा काठमाडौँ महानगरपालिका भित्र सञ्चालनमा रहेका चार वटा सहकारीले ३ करोड ठगी गरेको आरोप लगाउँदै महानगरपालिकामा उजुरी परेको छ । महानगरपालिकाको सहकारी विभागमा ठगीको त्यस्तो उजुरी परेको हो । उक्त उजुरी चालु आर्थिक वर्षको पछिल्लो एक महिनाको हो।
मङ्सिर १३ गतेदेखि पुस १२ गतेसम्म उजुरी परेका सहकारीहरूमा अमृताम्भ बचत तथा ऋण सहकारी संस्था, पर्फेक्ट बचत तथा ऋण सहकारी, अष्ट बचत तथा ऋण सहकारी संस्था र स्वर्णकालीन बचत तथा ऋण सहकारी रहेका छन् । यी सहकारी विरुद्ध ३ करोड २६ लाख ४६ हजार ९२७ रुपैयाँ मागदावी सहित १६९ जना बचतकर्ताले विभागमा उजुरी दिएका हुन्।
विभागका अनुसार मङ्सिर महिनामा एक करोडभन्दा बढीको मागदावी सहित दुई वटा सहकारी विरुद्ध उजुरी परेको थियो । एक करोड ८५ लाख ३३ हजार ९०१ रुपैयाँको मागदावी सहित अमृताम्भ हनुमान बचत तथा ऋण सहकारी संस्था र पर्फेक्ट बचत तथा ऋण सहकारी संस्था विरुद्ध उजुरी परेको छ । यी सहकारी विरुद्ध १०४ बचतकर्ताले विभागमा उजुरी दिएका हुन् ।
त्यस्तै, पुस महिनाको १२ गतेसम्म दुई वटा सहकारी विरुद्ध बचतकर्ताहरूले ठगी गरेको भन्दै उजुरी दिएका थिए । अष्ट बचत तथा ऋण सहकारी संस्था र स्वर्णकालीन बचत तथा ऋण सहकारीमा बचतका लागि राखेको आफ्नो पैसा फिर्ता नदिएको भन्दै बचतकर्ताहरूले उजुरी दिएका थिए ।
विभाग अनुसार यी दुई सहकारीले एक करोड ४१ लाख १३ हजार २६ रुपैयाँ ठगी गरेको आरोप छ । जसमा अष्ट बचत तथा ऋण सहकारीले ७६ लाख ६८ हजार ९१० रुपैयाँ ठगी गरेको बचतकर्ताको आरोप छ । त्यस्तै, स्वर्णकालीन सहकारीले ६४ लाख ४४ हजार ११६ रुपैयाँ ठगी गरेको आरोप छ ।
अष्ट बचत तथा ऋण सहकारीको उक्त रकम ३५ जना बचतकर्ताको मात्रै रहेको छ । उता स्वर्णकालीन सहकारीको भने उक्त रकम ३० जना बचतकर्ताको रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस