aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

राष्ट्रिय सहकारी बैंक लिमिटेडको निष्क्रिय कर्जामा वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ पुस २०७९
राष्ट्रिय सहकारी बैंक लिमिटेडको निष्क्रिय कर्जामा वृद्धि

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको निष्क्रिय कर्जामा वृद्धि भएको छ । बिहिबार लिमिटेडले आयोजना गरेको पत्रकार सम्मेलनमा निष्क्रिय कर्जामा वृद्धि भएको जनाएको हो । 

यस सहकारी बैंकको आर्थिक वर्ष २०७४/७५ मा निष्क्रिय कर्जा १.९८ प्रतिशत रहेको थियो । २०७५/७६ मा १.३४ प्रतिशत र २०७८/७९ सम्म २.६ प्रतिशत निष्क्रिय कर्जा रहेको छ । यस अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर ४ प्रतिशत रहेको छ । 

चालु आर्थिक वर्ष २०७९/०८० मा शेयर पुँजी ३ अर्ब २१ करोड, निक्षेप सङ्कलन ६१ अर्ब ३५ करोड कर्जा लगानी ४६ अर्ब भन्दा बढी गरी ७२ अर्ब १५ करोड भन्दा बढीको कुल कारोबार गर्न लक्ष्य लिएको छ । बैंकले साधारण सभामा सदस्य संघ÷संस्थाहरूको अधिकतम सहभागिताको अपेक्षा गरेको छ ।

सहकारी संघ÷संस्थाहरूलाई वित्तीय सेवा प्रदान गर्ने र सहकारी संघ संस्थामार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक स्तर माथि उक्लन सहयोग पुर्याउने उद्देश्य सहित विगत २० वर्ष देखि नेपालभरका ७७ जिल्लाका करिब १६ हजार सहकारी संघ÷संस्थाहरूलाई ६८ वटा कार्यालयहरू मार्फत बैंकिंग एवम् गैर–बैंक सेवा पुर्‍याउँदै आएको छ ।  

सहकारी क्षेत्रमा आकर्षित हुने नियमकीय प्रावधानहरू पालना गर्दै सहकारी क्षेत्रलाई दिगो बनाउन क्रियाशील रहेको यस बैंकले नियमन निकायबाट जारी भएका सम्पूर्ण निर्देशिकाहरुको पूर्ण रूपमा पालना गर्दै एकाइगत रूपमा साधारण सभा सम्पन्न गर्दै आइरहेको छ ।

सञ्चालक समितिको यस कार्यवधिका सम्पूर्ण आर्थिक वर्षमा सदस्यको शेयर लगानीमा १५ प्रतिशत नगद लाभांश प्रदान गर्न बैंक सफल रहेको छ । सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम निक्षेप तथा कर्जाको योगदानका आधारमा आर्थिक वर्ष २०७६/०७७ देखी संरक्षित पुँजी फिर्ता कोषको रकम बाँडफाँड गर्न थालिएको छ । गत आर्थिक वर्षमा बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ५६ लाख ५२ हजार तथा कर्जा तर्फ १३ लाख ७८ हजार सम्म फिर्ता पाएका छन् ।

यस कार्यवधिमा २४ शाखा थप गरी ३७ जिल्लामा प्रत्यक्षरुपमा शाखा सञ्जाल विस्तार भएको छ । बैंकको केन्द्रीय कार्यालय निर्माणका लागि काठमाडौं महानगरपालिका टेकुमा जग्गा खरिद गरी भवन निर्माणका लागी प्रक्रिया अगाडि बढाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस