
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको छ ।
बैंकको १९ औं वार्षिक साधारणसभा सकिएकै दिन सोमबार बैंकले गत आर्थिक वर्षको लाभांश १५ हजार ४७४ सदस्य सहकारी संघ–संस्थाको खातामा लाभांश रकम पठाएको बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ ।
‘साधारणसभाले १५ प्रतिशत लाभाशं दिने निर्णय पारित गरेको लगत्तै बैंकले खातामा रकम पठाएका छौं’,बैंकका अध्यक्ष के.बी. उप्रेतीले भने । उनका अनुसार एकाइ प्रतिनिधिहरुको साधारणसभा सोमबार सम्पन्न भएसँगै देशभरका सहकारीहरुको खातामा लाभाशंको रकम पठाइएको हो ।
बैंकले गत आर्थिक वर्ष ०७८/०७९ मा ४३ करोड ४५ लाख ५७ हजार ७४८ रुपैयाँ लाभांश वितरण गरेको छ । सहकारी बैंकले विगत ५ वर्ष देखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले वितरण गरेको यो लाभांशमा संरक्षित पूंजी फिर्ता कोषबाट प्राप्त गर्ने रकम समाबेश नगरिएको बैंकले जनाएको छ ।
बैंकले जारी गरेको प्रेस विज्ञप्ती अनुसार बैंकसँग कारोबार गर्ने सम्पूर्ण सदस्य संघ÷संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा समेत राष्ट्रिय सहकारी बैंकसँग गरिने कारोबारमा वृद्धि गरी थप लाभान्वित हुन सम्पूर्ण सहकारी संघ–संस्थाहरुमा अनुरोध गरेको छ ।
बैंकले छिट्टै नै सदस्यहरुलाई संरक्षित पूंजीफिर्ता कोषको रकम पनि सदस्यको खातामा पठाउने तयारी गरेको छ । बैंकले लाभांश बाहेक कारोबारका आधारमा संरक्षित पूंजीफिर्ता कोषबाट पनि सदस्य सहकारीहरुलाई रकम उपलब्ध गराउँदै आएको छ ।
संरक्षित पूंजीफिर्ता कोषको रकम कारोबारको आधारमा दिइने र उक्त रकम केही समय पछि प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बताए ।
प्रतिक्रिया दिनुहोस