
काठमाडौं । नेपाल राष्ट्र बैंकले बहुचर्चित चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । राष्ट्र बैंकले बुधबार पत्रकार सम्मेलन मार्फत सो मार्गदर्शन संशोधन भएको सार्वजनिक गरेको हो ।
संशोधित व्यवस्था अनुसार अब सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा पाँचवटा किस्सामा कर्जा भुक्तानी गर्न सक्नेछन् ।
लामो समयको छलफल र सुझावहरु ग्रहण गरेपश्चात राष्ट्र बैंकले उक्त मार्गदर्शन कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो । गत वर्ष पुसमा मस्यौदा निर्माण गरी बैंकले सरोकारवालाहरुसँग प्रतिक्रिया र सुझाव मागेको थियो ।
नयाँ सरकार आउने बित्तिकै त्यसको लाभ उठाउँदै व्यापारीहरुले अर्थमन्त्रीलाई दबाव दिएपछि अर्थमन्त्री र गभर्नरको छलफल पश्चात यस्तो संशोधन गरिएको हो । कतिपय व्यापारीहरु निकै नै ठुलो अप्ठ्यारोमा परेपछि बरु अब मार्गदर्शन अनुरुप नै चल्ने तर, यसअघि लिएको कर्जाको विषयमा भने केही समय आवश्यक पर्ने भन्दै उनीहरुले गुहार मागेका थिए ।
व्यापारीहरुले मार्गदर्शनलाई दुइ वर्ष स्थगित गर्न माग गरेकामा सो आंशिकको रुपमा संबोधन भएको छ भने कम्तिमा यो आर्थिक वर्षमा लागु नगरिदिनु भन्ने आग्रह भने राष्ट्र बैंकले अस्वीकृत गरेको छ ।
प्रतिक्रिया दिनुहोस